बैतडीमा थप तीनसय जनाको मतदाता नामावली दर्ता

बैतडी: आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावली संकलन र अद्यावधिक कार्य सञ्चालनमा रहेको छ । जिल्ला निर्वाचन कार्यालयमा भइरहेको नामावली संकलन कार्यमा हालसम्म तीनसय बढीले नाम दर्ता गराएका छन् ।

उक्त कार्यालयका कम्प्युटर अपरेटर रतन चन्दका अनुसार असोज ९ गतेदेखि हालसम्म तीनसय एक जनाको नामावली संकलन भइसकेको बताउनुभयो । जसमध्ये ९३ जना महिला र बाँकी २०८ पुरुष रहेका छन् । नामावली संकलन भएकामध्ये एकजना बाह्य जिल्लाका रहेका छन् ।

यसक्रममा २५ जनाको सच्याउने र ५२ जनाको सार्ने काम भएको कम्प्युटर अपरेटर चन्दले बताउनुभयो ।

आफ्नो व्यक्तिगत विवरण अनलाइनमार्फत भरेर बायोमेट्रिकका लागि जिल्ला निर्वाचन कार्यालयमा केन्द्र स्थापना गरेर नामावली संकलनको काम धमाधन भइरहेको हो ।

निर्वाचन आयोगको वेभसाइट www.election.gov.np मा गएर अनलाईनमार्फत आफ्नो विवरण आफैं भर्न सक्ने व्यवस्था छ । अनलाईन विवरण भरिसकेपछि आवेदन फारम प्रिन्ट ल्याएर निर्वाचन कार्यालयमा फोटो र फिंगर प्रिन्ट लिनुपर्छ । त्यसपछि नामावलीमा नाम दर्ता हुने गर्दछ ।

नामावलीमा यसअघि नाम दर्ता गराउन छुटेका सम्पूर्णलाई नाम दर्ता गराउन आग्रह गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तथा जिल्ला निर्वाचन अधिकारी पुरुषोत्तम जोशीले बताउनुभयो ।
नामावलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको प्रमाण पत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाण पत्र, बसाइसराई गरेर आएकाहरुको हकमा बसाइसराईको प्रमाणपत्र आवश्यक पर्ने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

यसअघि यहाँ एक लाख ६१ हजार तीनसय १२ जनाको नामावलीमा नाम दर्ता भएको रेकर्ड छ । जसमा ८२ हजार एकसय २६ पुरुष, ७९ हजार एकसय ८४ महिला र दुर्ए तेस्रो लिंगी रहेका छन् ।

सोह्र वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता १६ वर्षमा हुने भएपनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्दछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!