सिल्लेगडा-पुर्चौडी सडक ८ दिनदेखि बन्द,दशैंलाई घर फर्किने समस्यामा

बैतडी: सडकमा खसेको ठुलो पहिरोका कारण सिल्लेगाडा–कालागाउँ –पुर्चौडी सडकखण्ड विगत आठ दिनदेखि अवरुद्ध रहेको छ ।

गत भदौं ३१ गते वर्षासंगै उक्त सडकखण्डको दोगडाकेदार गाउँपालिका २ बडियास्थित डाडाँइजर भन्ने ठाउँमा ठुला ढुंगासहित पहिरो खसेको थियो ।

सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपमा रोकिएको जीप चालक नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“ पहिरोसंगै ठुलो ढुंगा खसेका कारण सडक अवरुद्ध भएको छ । जसले गर्दा यातायात सेवा पूर्ण रुपमा बन्द छ ।”

उक्त सडकमा पहिरो खसेपछि हिँडडुलमा समेत समस्या भएको रौलेश्वर मावि कफलकोटका प्रधानाध्यापक नरेन्द्र भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ पहिरोका कारण पैदलयात्रीलाई समेत आवतजावत गर्न निकै जोखिम रहेको छ । माथिबाट ठुलो पहिरो आएको छ । अझै खस्न सक्ने सम्भावना छ । ”

सडक अवरुद्ध हुँदा सवारी साधन पूर्ण रुपमा बन्द हुँदा दशैंका लागि घर फर्किरहेका यात्रुलाई समस्या भएको छ ।

अवरुद्ध सडक खुलाउन प्रयास गरिएको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“गाउँपालिका र सडक डिभिजन कार्यालयको दुई जेसिबीले पहिरो पन्छाउन प्रयास गरेको थियो । ठुलो ढुंगाका कारण सम्भव हुन सकेन ।”

पहिरो पन्छाउनका लागि स्काभेटर आवश्यक पर्ने उहाँले बताउनुभयो । गाउँपालिकासंग स्काभेटर रहेको भएपनि मर्मतका लागि धनगढी पठाइएको छ । उहाँले भन्नुभयो,“ गाउँपालिकासंग स्काभेटर रहेको थियो, मर्मत गर्नुपर्ने देखिएपछि धनगढी पठाएका छौं । अब कतैबाट स्काभेटरको व्यवस्था गरेर सडक सुचारु गर्छौ । ”

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!