बैतडी: फरार कैदी खोज्न बैतडीमा संयुक्त सुरक्षा टोलीको ‘अप्रेसन’ सञ्चालन गरेको छ ।
गत मंगलबार राति बैतडी कारागार तोडफोड र आगजनी गरेर ६२ कैदी भागेका थिए । जसमध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकी ५८ जना फरार कैदी खोज्न अप्रेसन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख,प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ फरार रहेका कैदीलाई आफैं सम्पर्कमा आउनेलाई सजायलगायतका कुरामा छुट हुने गर्दछ । आफैं सम्पर्कमा नआउनेहरुलाई अप्रेसन चलाएर पक्राउ गछौं ।”
कारागारबाट कैदीबन्दी भागेपछि आपराधिक घटना हुन सक्ने चिन्ता थपिएको उहाँले बताउनुभयो । प्रनाउ रायले भन्नुभयो,“चाडपर्वको बेला छ, कारागारबाट भागेका अपराधि जे पनि गर्न सक्छन् भनेर अप्रेसन चलाएर पक्राउ गर्न थालेका हौं ।”
अपे्रसनकै क्रममा डडेल्धुरा कारागारबाट भागेका ६ कैदीलाई संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका १ सकारबाट पक्राउ गरेको छ ।
भारततर्फ भागिरहेका भन्ने सूचनाको आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जेनजीको प्रदर्शका कारण बुधबार बिहानै डडेल्धुरा कारागार तोडफोड गरेर कैदीबन्दी फरार भएका थिए ।
पक्राउ परेका सबैलाई डडेल्धुरा प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
फरार कैदीहरु सीमानाका भएर भारत जाने खतरा बढेको भन्दै झुलाघाटलगातयतका नाकाहरुमा कडाई गरिएको छ । उहाँले भन्न्ुभयो,“कारागारबाट भागेका कैदीहरु छिमेकी मुलुक भारत जान सक्ने भएकोले सीमानाकाहरुमा पनि कडाई गरेका छौं ।”
