आँखै अगाडी राष्ट्रपति भवन जल्दा,मैले जे देखें

यसक्रममा सेनाले कुनै पनि एक्सन लिएन । बरु आत्मसर्मपण गर्दै प्रदर्शनकारीलाई सहजै भित्र जान दियो ।

काठमाडौं: जीवन शुरुआतको ३ दशक पूरा र पत्रकारिता गरिरहेको डेढ दशक हुँदासम्म पनि राष्ट्रपति भवन नछिरेको म पहिलोपटक भदौ २४ गते मंगलबार राष्ट्रपति भवन (शीतल निवास) छिरे ।
पहिलोपटक शीतल निवासको मुख्य गेट प्रवेश गरिरहँदा मेरो मनमा थुप्रै कुराहरु खेलिरहे । मुख्य कुरा थियो राष्ट्रपति भवन छिर्न आन्दोलन र प्रदर्शन मात्रै हुुनुपर्ने रहेछ ।

हुन पनि त्यही भयो । पहिलोपटक छिर्दा आन्दोलन र प्रदर्शनकारीका बीचबाटै छिरे ।
जेनजीको आक्रमक शैलीमा रहेको आन्दोलनको स्वरुप शीतलनिवास प्रवेश गर्न खोजीरहेको थियो ।

दिउँसो साढे १ बजेदेखि प्रदर्शनकारी शीतलनिवास घेर्न पुगिसकेका थिए । नारासंगै अगाडी बढिरहेका उनीहरुसंगै म पनि फोटो,भिडियो खिच्दै संगसंगै हिँडिरहे ।

राष्ट्रपति भवनको ३ नम्बर गेटमा अर्थात पानीपोखरी तर्फको सडकमा नेपाली सेना काँडेतार लगाएर तैनाथ रहेको थियो । प्रदर्शनकारी हतियारसहित रहेको सेनाको डरले अगाडी बढ्न डराइरहेका थिए । बढुन पनि कसरी शुरुमा प्रदर्शनकारीभन्दा बढी सेना रहेका थिए ।

सेनाले आवातजावत तथा यातायात सञ्चालनमा कडाई गरेको थियो । प्रदर्शनकारीहरु दोःचा मार्ग प्रवेशद्वारमा जम्मा रहेका थिए । सेनाले अगाडी बढ्न दिइरहेको छ कि छैन भनेर प्रदर्शनकारी सर्वसाधारणको भेष धारणा गर्दै नजिक जाँदै थिए ।

यो क्रम र प्रदर्शन करिब डेढ घण्टा चल्यो । बिस्तारै प्रदर्शनकारीको संख्या थपिदै गयो । प्रदर्शनकारी अगाडी बढ्दै गए । सेना ब्याक हुँदै मुख्य गेटमा केन्द्रित हुन थाल्यो ।

मुख्य गेटमा बाक्लो संख्यामा नेपाली सेना रहेकाले प्रदर्शनकारीलाई भित्र प्रवेश गर्न पौने १ घण्टा जति लाग्यो । यो बीचमा प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरिरहे,सेना आफ्नो सुरक्षित स्थान खोज्न थाल्यो ।

यसक्रममा सेनाले कुनै पनि एक्सन लिएन । बरु आत्मसर्मपण गर्यो ।गेटको छेउको भित्तामा टाँसिएर प्रदर्शनकारीलाई सहजै भित्र जान दियो ।
प्रदर्शनकारी आक्रामक शैलीमा दगुर्दै राष्ट्रपति कार्यालयको भित्र पसेर आगजनी र तोडफोड गर्न थाले । नेपाली सेना भने मुख्य गेट छोडेर भित्र सुरक्षित स्थानतर्फ लाग्यो ।

अधिकांसको हातमा मोबाइल थिए । उनीहरु आगो लागेको र ढुंगामुढा भइरहेको भिडियो खिच्न ब्यस्त थिए ।

राष्ट्रिय झण्डा समातेका प्रदर्शनकारी राष्ट्रपति कार्यालयको माथिल्लो तलामा गएर नेपाल आमाको जय,यो जित कसको नेपालको भन्दै नारा लगाउँदै थिए । संगसंगै आगलागी र ढुंगामुढाले झ्याल ढोका र परिसरमा रहेका अन्य संरचनामा क्षति पुर्याउन थाले ।

तोडफोड र आगजनी चलिरहदाँ प्रदर्शनकारीमध्येका केहीको ध्यान त्यहाँ रहेको सामान कसरी चोर्ने भन्ने मै थियो ।

sadak

कोही कार्यालय परिसरमा रोपिएका फूलहरु उखेल्न थाले कोही गमला, पंखा,टेबुल,कुर्सीहरु बोकेर बाहिरिरहेका थिए ।
यो दृश्य देख्दा मलाई लाग्यो कि यहाँ चलिरहेको प्रदर्शनको उद्देश्य एउटै छैन् ।

अपरान्ह पौने ४ बजेदेखि सुरु भएको आगजनीमा संलग्नहरु सबै नेपाली भाषा बोलिरहेका थिएनन् । कोही हिन्दी र कोही नबुझिने भाषा बोलिरहेका थिए । यसमध्ये केही मोबाइलबाट भिडियो खिच्दै रमाइरहेका थिए ।

प्रदर्शनको फाइदा उठाउँदै व्यक्तिगत स्वार्थ पूर्ति गर्नेको भीड ठुलो थियो ।
जेनजी समूहले भ्रष्टाचार उन्मूलन गर्नुपर्ने मुख्य माग राख्दै आन्दोलित थियो भने आन्दोलनमा संलग्न अधिकांश व्यक्तिगत स्वार्थ पूर्तिका लागि लागिपरेका थिए ।

आगजनी भइरहेकै बेला नेपाली सेनाले शीतल निवास भित्र फसेका प्रदर्शनकारीहरुको उद्धार समेत गर्यो । यसका साथै भित्र ग्याँस सिलिण्डर र विस्फोटक पदार्थ रहेकोले मानवीय क्षति हुने आग्रह गर्दा पनि कसैले मानेनन् ।

भदौ २३ गते सोमबार भएको प्रदर्शन पनि बाहिर घुसपैठका कारण उग्र भएको थियो । सायद सोमबारको प्रदर्शनलाई सुरक्षा निकायले नियन्त्रणमा राख्न सकेको भए यति धेरै धनजनको क्षती हुने थिएन् होला ।
प्रदर्शनले उग्र रुप लिएपछि अकल्पनीय अवस्था आयो ।

दुई दिनमा २० भन्दा बढी युवा तथा सुरक्षाकर्मीको ज्यान गएको छ । देशको मुख्य प्रशासनीक अड्डा सिंहदरबार,सर्वोच्च अदालत, राष्ट्रपति भवन,प्रधानमन्त्री निवास,प्रहरी वृत,मुख्यमन्त्री कार्यालय,विभिन्न सरकारी कार्यालयहरु, राजनीतिक दलका नेताहरुको घर र उनीहरुले सञ्चालन गरेका विभिन्न व्यवशाय प्रयोजनका भवन,मिडिया हाउसलगायतका ठुलो क्षति भएको छ ।

मंगलबारको अत्यधिक बल प्रयोगबाट १९ जनाको ज्यान गएको भोलिपल्ट युवा आन्दोलनकारीहरुको प्रदर्शन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । तर राजीनामा दिन प्रधानमन्त्रीले ढिलाई नगरेको भए क्षति कम हुने अनुमान थियो । किनकी प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरिरहेका थिए ।

प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई संयम हुन आग्रह गर्दै जेनजी आन्दोलनकारीलाई समेत वार्ताका लागि आह्वान गरे ।
राष्ट्रपतिसंगै प्रधानसेनापति र आन्दोलनरत पक्ष वार्ता गर्ने तयारीमा रहेका छन् ।

आन्दोलनकारीहरुले कस्ता माग अघि सार्छन् र राष्ट्रपतिले कसरी सम्बोधन गर्न खोज्छन् भन्ने विषय छलफलबाट तय हुन्छ । तर जेनजी भनिएको समूहका आधिकारिक प्रतिनिधिमा विवाद हुँदा ढिलाई भएको छ ।

अकल्पनीय ठुलो जनधन क्षतिपश्चातपछि पनि देशले यतिकै निकास पाउन मुस्किल छ ।

अशान्त देश र जलेको राष्ट्र बनाउन सबैले मिल्नुको विकल्प छैन् ।

इतिहास नष्ट भएको थाहा नपाउने हामीले नेपालको भविष्यको बारेमा सोच्ने कि?

जय देश! जय नेपाल!! जय पशुपतिनाथ !!!
✍️:-विनोद सिंह विष्ट

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!