देहिमाडौं–गिरेगडा सडक पाँचदिनपछि खुल्यो

बैतडी: पहिरोका कारण अवरुद्ध बैतडीको देहिमाडौं–गिरेगडा सडक पाँचदिनपछि खुलेको छ । दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक सडक माथिबाट आएको पहिरोले शनिबारदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको थियो ।

प्रहरीले अवरुद्ध सडक खुलाउन प्रयास गरेपनि पाँचदिनपछि मात्रै सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

पहिरोसंगै खसेको ठुलो ढुंगा र अविरल वर्षाका कारण सडक खुलाउन समय लागेको हो । उहाँले भन्नुभयो,“ दुई दिनसम्म जेसिबीले पहिरो पन्छाएर सडक सुचारुको प्रयास गरिएको थियो । तर सडकको बीचमा पहिरोसंगै ठुलो ढुंगा खसेकाले जेसिबीको पन्छाउन सकिएको थिएन् ।”

आज ग्वाल्लेक निर्माण सेवा कम्पनीको स्काभेटर मेसिनले ढुंगासहित पहिरो सफा गरेपछि सडक खुलेको हो ।

सडक सुचारु भएसंगै सवारी आवागमन पनि सञ्चालन भएको छ । गिरेगडादेखि बैतडी सदरमुकाम र तराई जाने र तराई र सदरमुकामदेखि गिरेगडा, पञ्चेश्वर जाने सवारीसाधन चल्न थालेका छन् ।

वर्षाका कारण पाँच दिनदेखि प्रभावित बनेको जनजीवन आज घाम लाग्न थालेपछि सामान्य बन्दै गएको छ ।

यता जिल्ला प्रशासन कार्यालयले भने लगातारको वर्षा रोकिएको भएपनि जोखिम भने कायमै रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले वर्षा कम भएपनि जोखिम कायमै भएकोले सतर्कता कायम राख्न र विपदजन्य घटना भएको अवस्थामा तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा रहन सबै जिम्मेवार निकाय तथा सरोकारवालाहरुलाई अनुरोध गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!