बैतडी: पहिरोका कारण बैतडीको देहिमाडौं–गिरेगडा सडक चारदिनदेखि अवरुद्ध रहेको छ । दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक सडक माथिबाट आएको पहिरोले शनिबारदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुलाउने प्रयास भएपनि सम्भव नभएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“ दुई दिनसम्म जेसिबीले पहिरो पन्छाएर सडक सुचारुको प्रयास गरिएको थियो । तर सडकको बीचमा पहिरोसंगै ठुलो ढुंगा खसेकाले जेसिबीको पन्छाउन सकेन् ।”
उक्त ढुंगा पन्छाउन स्काभेटर चाहिने भएपनि स्काभेटर मेसिन उपलब्ध नहुँदा समस्या भएको प्रवक्ता पाण्डेयले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपमा रोकिएको छ । जसले गर्दा गिरेगडादेखि बैतडी सदरमुकाम र तराई जाने र तराई र सदरमुकामदेखि गिरेगडा, पञ्चेश्वर जाने सवारीसाधन ठप्प रहेका छन् ।
यस्तै मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु झुलाघाट नजिक खसेको पहिरो पन्छाएपछि दुई दिनदेखि अवरुद्ध सडक सुचारु भएको छ ।
नेपाल–भारत सीमानाकासंग जोडिएको सडक खुलेसंगै आवतजावतमा सहजता भएको छ ।
बैतडीमा गएको चारदिन देखि निरन्तर वर्षा हुँदा जनजीवन समेत प्रभावित बनेको छ ।
