विपदको जोखिम बढ्यो: बैतडीमा ‘हाई अलर्ट’

बैतडी: लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरो र अन्य प्राकृतिक विपदको जोखिम हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लास्थित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आकस्मिक अवस्था बाहेक यात्रामा नगर्न र जोखिम भएका स्थानमा नबस्न जिल्लाबासीलाई आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“ अविरल रुपमा वर्षा भइरहेको छ । यस्तो अवस्थामा यात्रा नगर्न र विपदजन्य घटना भएको अवस्थामा तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा रहन सबै जिम्मेवार निकाय तथा सरोकारवाला सबैलाई भनेका छौं ।”

मनसुनजन्य विपदका सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, अत्यावश्यक बाहेक यात्रा नगर्न, रातको समयमा जोखिमयुक्त स्थानहरूमा नबस्न, नदी, खोल्सामा नजान तथा सतर्कता पूर्वक यात्रा गर्न सबैलाई आग्रह गरेको गरिएको छ ।

यसका साथै पहिरो र बाढीको जोखिम हुनसक्ने भएकोले रातिको समयमा राजमार्ग र सहायक सडकहरूमा सवारीसाधन सञ्चालनमा रोक पनि लगाइएको छ ।

विपदको जोखिम रहँदासम्म आपतकालीन अवस्था बाहेक रातिको समयमा सवारी साधन नचलाउन र यात्रा नगर्न अनुरोध गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।

यता जिल्ला प्रहरी कार्यालयले पनि अविरल वर्षाका कारणले बाढी, पहिरो आई बाटो घाटो अवरुद्ध हुन सक्ने भएकाले बाहिर निस्कदा र लामो तथा छोटो दुरीका सवारी साधन चलाउदा सावधानी अपनाउन आग्रह गरेको छ ।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले विपद्बाट बच्नका लागि सावधानी अपनाउन र आ– आफ्नो गाउँघर छरछिमेकीमा बाढी पहिरो सम्बन्धी क्षति हुन वा सक्ने सम्भावित एरियाबारे नजिकको प्रहरी इकाईमा जानकारी दिन अनुरोध गर्नुभएको छ ।

यसका साथै महाकाली नदीको सतह बढेकाले नजिकका बस्तीहरुमा जोखिम बढी हुने भएको हुँदा सुरक्षा सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

गएको तीन दिनदेखिको लगातारको वर्षाका कारण यहाँको जनजीवन प्रभावित बनेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!