बैतडीमा पहिरोले १२ कोठे घर क्षतिग्रस्त: एकजना गम्भीर,१३ पशु मरे

बैतडी: वर्षासंगै खसेको पहिरोको कारण बैतडीको सुर्नया गाउँपालिका २ चौपातामा एक घर पुरिएको छ ।

आइतबार अपरान्ह घर माथिबाट खसेको पहिरोले गिरीस चन्दको २ तले १२ कोठे घर पुरिएको हो ।

पहिराले घर पुरिदा ९० वर्षिया गोदावरी चन्द गम्भीर घाइते भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

घरभित्र पुरिएकी गोदावरीको उद्धार गरी जिल्ला अस्पताल ल्याइएकोमा यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको प्रवक्ता पाण्डेयले बताउनुभयो ।

घर पहिराले पूर्णरुपमा क्षति गर्दा घरभित्र रहेका १३ पशुसमेत पुरिएर मरेका छन् । चार गाई, एक गोरु,पाँच बाख्रा र तीन खसी पुरिएर मरेका हुन् ।

यसका साथै घरभित्र रहेका अन्य धनमाल, अन्नपात,लत्ताकपडा पनि पुरिएका प्रहरीले जनाएको छ ।

पुरिएका पशु र अन्य धनमाल लगायतको सामग्री प्रहरी र स्थानीयले निकाल्ने काम गरिरहेका छन् ।

घरमा अन्य मान्छे नभएकोले थप मानवीय क्षती हुनबाट बचेको छ ।

लगातारको वर्षाले घर माथिबाट पहिरो र ढुंगा खसिरहेकोले थप उद्धारमा समस्या भएको बताइएको छ ।

प्रहरीको टोली घटनास्थलमै रहेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!