डडेल्धुरा: स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डडेल्धुरा अस्पतालमा सुरु भएको डायलाइसिस सेवाको आज उद्घाटन गर्नुभएको छ ।
संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवा सञ्चालन भएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका मिर्गौलाका बिरामीलाई धनगढी धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डमार्फत डडेल्धुरा अस्पतालमा सेवा केन्द्र सञ्चालनमा समस्या आएको उल्लेख गर्दै संघीय अस्पतालबाट प्रथम सेवा केन्द्र विन्दु उपलब्ध हुन नसक्ने प्रष्ट पार्नुभयो ।
डडेल्धुरा अस्पतालले स्वास्थ्य बीमावापत अझै दुई करोड पाउन बाँकी रहेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।
उहाँले तीन सय शैययाका लागि दरबन्दी स्वीकृत भइसकेको बताउदै आगामी एक वर्षभित्र डडेल्धुरा लगायतका सबै अस्पताललाई पाँच सय शैययामा विस्तार गरिने घोषणा गर्नुभयो ।
