बैतडी: वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाैटमा समूह बी काे तेस्रो खेलमा कञ्चनपुर विजयी भएकाे छ।
आज सम्पन्न खेलमा कञ्चनपुरले बझाङलाई ४ विकेटले हरायाे।
बझाङले दिएकाे १११ रनकाे लक्ष्य कञ्चनपुरले २४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे। जसमा प्रकाश पाण्डेयले अर्धसतकीय पारी खेल्दै ५९ रनकाे याेगदान गरे। म्यान अफ द म्याच समेत भएका प्रकाशले ६३ बलकाे सामना गर्दै ९ चाैका र १ छक्काकाे मद्दतमा ५९ रन जाेडेका हुन्।
बझाङका राेशन खातीले ४ विकेट हात पारे।
यसअघि परशुराम रंग मैदानमा पहिला ब्याटिङ गरेकाे बझाङ २५ ओभरमा ११० रनमा समेटियो ।
उसका राेशन खातीले अविजित ४३ रन बनाएपनि अरूले खासै प्रदर्शन गर्न सकेनन् ।
कञ्चनपुरका कप्तान हेमन्त धामी र अभिषेश थापाले ३/३ विकेट लिए ।
याे जितसंगै प्रतियोगितामा सुखद नतिजा निकालेकाे कञ्चनपुरले २ अंक जाेडेकाे छ। बझाङ भने दाेस्राे हारसंगै बाहिरिएको छ। यसअघि पहिलाे खेलमा बझाङ अछामसंग हारेकाे थियोे ।
प्रतियोगिता अन्तरगत भाेलि कञ्चनपुर र अछाम भिड्ने स्काेरर लाेकेश जाेशीले जानकारी दिनुभयो ।
समूह बी बाट शिर्ष स्थानमा पुग्ने टाेली फाइनलमा बैतडीसंग भिड्नेछ।
समूह ए बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेकाे छ ।
जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाकाे सहभागिता रहेकाे सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे ।
सहभागी ८ टाेलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हाे।
दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टाेलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयाेजक रमेश बाेहराले बताउनुभयो।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाैटकर्ता दीपेन्द्र भण्डारीका अनुसार प्रदेशस्तरीय छनाैटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टाेली घाेषणा गरिनेछ।
