काठमाडौं: नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका छन् । सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू वेस्ट इन्डिज पुगेको बताएका छन् ।
उनले भिसा प्राप्त गर्न सहयाेग पुर्याउनुहुने सम्पूर्णलाई धन्यवाद दिएका छन्।
सन्दीपले फेसबुकमा लेखेका छन्। ‘मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु तर दुर्भाग्यवश त्यो सफल हुन सकेन,’ उनले भनेका छन्, ‘तर ती सबै कुरालाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु।’
‘मेरो सहयात्रालाई सम्भव बनाउनका लागि हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरो प्यारो पारस खड्का दाइ, मेरो वकिल सरोज घिमिरे दाइ, विनोद दास दाइ र प्रबल दाइ र प्रिय बालकृष्ण दाइलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’उनले थप लेखेका छन्,
यसअघि क्यानले सन्दीप वेस्ट इन्डिजमा हुने विश्वकपका खेलहरू खेल्ने जनाएको थियाे।
सन्दीप वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।
