बैतडी: बर्षासंगै खसेकाे पहिराले जयपृथ्वी राजमार्ग ११ घण्टादेखि अवरुद्ध रहेकाे छ।
राजमार्गकाे खाेडपे-बझाङ सडकखण्ड अन्तरगत बैतडीको सुर्नया गाउँपालिका- ७ भन्ज्याङमा पहिराे खस्दा अवरुद्ध भएकाे हाे ।
गएराति ९ बजे सडकमाथिबाट खसेकाे पहिराेका कारण राजमार्ग अवरुद्ध भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।
राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेकाे छ।
सवारी आवागमन ठप्प हुँदा यात्रुहरू बीचबाटाेमै अलपत्र परेका छन्।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
पहिराेका कारण याे राजमार्ग बेलाबेलामा अवरुद्ध हुँदै आएकाे छ।
यसअघि साउन २१ गते रमिलापुरमा र साउन २० गते झ्याउलेकमा पहिराे खस्दा राजमार्ग अवरुद्ध बनेकाे थियाे।
लगातारकाे वर्षाका कारण यहाँको जनजीवन समेत प्रभावित भएकाे छ।
