बैतडी: नेपाली कांग्रेस बैतडीको दोगडाकेदार गाउँपालिकाका वडा–वडामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
साउन १३ गते सुरु भएको वडास्तरीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य केशवराज जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ साउन १३ गते दोगडाकेदार वडा नम्बर २ बाट सुरु भएको प्रशिक्षण कार्यक्रम सबै वडा सञ्चालन गरेका हौं । आज समिक्षासहित सम्पन्न भएको छ ।”
प्रशिक्षणमा नेपाली कांग्रेस बैतडीका उपसभापति एवं प्रशिक्षण संयोजक वीरबहादुर विष्टको सहभागिता रहेको थियो । दोगडाकेदारका आठओटै वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका सभापति नन्दराज भट्टले बताउनुभयो ।
नेपाली कांग्रेसको नीति, विधि, विधान र संगठन विस्तारका बिषयमा प्रशिक्षण कार्यक्रममा छलफल भएको उपसभापति विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरुलाई स्थानीयस्तरदेखि नै प्रशिक्षित गराउन वडास्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेका हौं । ”
यसका साथै प्रशिक्षणमा पार्टीको आदर्श र सिद्धान्तका बारेमा समेत छलफल गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ प्रशिक्षणमा पार्टीको आदर्श र सिद्धान्त, टोलस्तरमा संगठन विस्तार गर्ने,पालिका समितिले निरन्तर वडा र टोल समितिसंग संबाद गर्ने , पार्टीका बैठक नियमित गर्नेबारेमा छलफल भएको छ । साथै जलवायु परिवर्तन,ग्रामिण अर्थतन्त्र,कार्यकर्तालाई सुख दुखमा साथ दिने कुरामा बहस भएको छ ।”
प्रशिक्षण कार्यक्रमले पार्टी एकढिक्का,सुदृढीकरण र संगठन बिस्तारमा सहयोग पुग्ने विश्वास गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ वडास्तरीय प्रशिक्षण कार्यक्रमले पार्टी एकढिक्का,सुदृढीकरण र संगठन बिस्तारमा सहयोग पुग्ने विश्वास छ। प्रशिक्षणलाई अभियानकै रुपमा जिल्लाभरी नै सञ्चालन गर्ने योजना बनाएका छौं ।”


