डिलाशैनी गाउँपालिकामा आइतबार शाेक बिदा

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकाले आइतबार शोक बिदा दिएको छ ।
जिप दुर्घटना हुँदा बैतडीको डिलाशैनी गाउँपालिका–१ घर भएका दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएपछि गाउँपालिकाले शाेक बिदा दिएकाे हाे । 

शनिबार बिहान भएको जिप दुर्घटनामा परी डिलाशैनी गाउँपालिका –१ घर भएका बरम आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत ३२ बर्षीय किरनबहादुर बोहरा र डिलाशैनी गाउँपालिका –१ कै जिप चालक २४ बर्षीय सन्तोषबहादुर रानाको मृत्यु भएको हो । 

धनगढीबाट गण्न्नातर्फ आइरहेको सु.प.प्र.०१००१ ज १३७२ नम्बरको जिप शनिबार बिहान साढे पाँच बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर डिलाशैनी १ कै ६ जना घाइते भएका छन् । 
गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै आइतबार गाउँपालिका मातहतका सबै सरकारी कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतमा शोक बिदा रहेको जनाएको छ । 
यसैबीच दुर्घटनामा परेर एकै गाउँका दुई जनाको मृत्यु र ६ जना घाइते हुँदा गाउँपालिका शोकमा डुबेको छ । 
मृतक बोहराका घरमा एक छोरा, श्रीमती र आमा–बुवा रहेका छन् । यस्तै दुर्घटनामा मृत्यु भएका चालक रानाको घरमा एक छोरी, श्रीमती र आमा–बुवा रहेका छन् । 

एकै गाउँका दुईजना युवाको अकालमै ज्यान गएपछि गाउँपालिका शोकमा डुबेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताउनुभयाे। 

डिलाशैनीका लागि आज कालो दिन भएको बताउँदै उहाँले एक कर्मठ, स्वास्थ्य क्षेत्रको कुशल व्यक्ति किरनबहादुर बोहरा र नरम स्वभावका युवा चालक सन्तोषबहादुर रानाको निधनले अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।  

 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!