बैतडी: वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाैटमा बैतडीले सानदार सुरुवात गरेको छ। बैतडीले सुखद सुरुवात गर्ने क्रममा पहिलाे खेलमा दार्चुलामाथि २०९ रनकाे विशाल जित निकाल्याे।
जितका लागि पाएकाे २८९ रनकाे विजय लक्ष्य पछ्याएकाे दार्चुला १४.५ ओभरमा ७९ रनमा अलआउट भयाे ।
उसका कमलेश विष्टले सर्वाधिक ४२ रन बनाउनुबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
दार्चुलाकाे पारी ध्वस्त पार्ने क्रममा बैतडीका सचिन भट्ट एक्लैले ६ विकेट चट्काए। म्यान अफ द म्याच समेत भएका सचिनले ५.५ ओभरमा २९ रन खर्चेर ६ विकेट झारेका हुन्। यस्तै दिनेश महराले ३ विकेट लिए।
यसअघि परशुराम नगरपालिका १२ स्थित जाेगबुढा रंग मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे बैतडीले ४५ ओभरमा २८८ रनमा समेटियाे।
जसमा दीपेश बाेहराले ९४,सुदीप कार्कीले ४२ रनकाे याेगदान गरे।
दार्चुलाका निरज पार्कीले ४,खगेन्द्र महराले २ विकेट हात पारे।
जितसंगै बैतडी अंकतालिकाकाे शिर्ष स्थानमा उक्लिएकाे छ। दार्चुला भने लगातार दाेस्राे हारसंगै पुछारमा छ।
यसअघि पहिलाे खेलमा दार्चुलालाई हराएकाे डडेल्धुरा दाेस्राे स्थानमा रहेकाे स्काेरर लाेकेश जाेशीले जानकारी दिनुभयाे।
प्रतियोगिता अन्तरगत मंगलबार बैतडी र डाेटी भिड्नेछन् ।
जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाकाे सहभागिता रहेकाे सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे ।
सहभागी ८ टाेलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हाे।
दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टाेलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयाेजक रमेश बाेहराले बताउनुभयो।
प्रदेशस्तरीय छनाैटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टाेली घाेषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाैटकर्ता दीपेन्द्र भण्डारीले बताउनुभयो ।
