दोगडाकेदार: बडिया र कणेलीगाउँमा सधैं खानेपानी समस्या

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकाले ‘एक घर,एक धारा अभियान’सञ्चालन गरेको वर्षौ भइसकेको छ । तर गाउँपालिकाको वडानम्बर २ बडिया र कणेलीगाउँमा रहेको खानेपानी समस्या भने जस्ताको त्यस्तै छ ।

बडिया र कणेलीगाउँमा बाह्रै महिना खानेपानीको समस्या हुने गरेको छ । यहाँका ३०० घरपरिवार खानेपानीको समस्यामा रहेका हुन् ।

३० वर्ष पहिला एडीबीको सहयोगमा बनेको खानेपानी योजना जीर्ण बनेपछि यहाँ बाह्रै महिना खानेपानीको समस्या हुने गरेको स्थानीय करनसिंह भाटले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ खानेपानीको लागि निकै समस्या छ । एडीबीले बनाइदिएको खानेपानी योजना जीर्ण भयो,परम्परागत पानीका न्वालो (कुवा) सुकेका छन् । यहाँ बाह्रै महिना खानेपानीको हाहाकार हुने गरेको छ ।”

एडीबीको सहयोगमा यहाँ वि स २०५२ सालमा खानेपानी योजना निर्माण भएपनि हाल भने जीर्ण भएको उहाँले बताउनुभयो ।
दोगडाकेदार गाउँपालिकाले अन्य बस्तीहरुमा ‘एक घर एक धारा अभियान’ सञ्चालन गरेपनि यहाँको समस्या समाधानका लागि भने कुनै चासो नदिएको स्थानीयबासिन्दाको आरोप रहेको छ ।
गाउँमा भएका पानीका मुहान सुकेपछि बणियाबासी एक गाग्री पानीका लागि दिनभरि भौँतारिने गरेका छन् । खानेपानीको बाह्रै महिना समस्या हुने गरेको अर्का स्थानीय लोकेन्द्र विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ बडिया र कणेलीगाउँबासीका दुःख भनेको खानेपानी हो । यो समस्या समाधानका लागि कुनै ठाउँबाट पहल हुन सकेको छैन् । ”

खानेपानीको लागि घण्टौंलगाएर ल्याउनुपरेको रघुबिर भाटले बताउनुभयो । उहाँले भन्नुभयो,“खानेपानीका लागि घण्टौं लाइन बसेर भर्नपर्छ । पानी भर्नमै रातदिन बित्ने गर्दछ । ”

बणियामा खानेपानी पुर्याउन सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षअघि लिफ्ट खानेपानी योजना सुरु भएपनि अधुरै रहेको छ । उक्त योजनाले बजेट अभावका कारण अहिलेसम्म पूर्णता नपाएको हो ।

बजेट अभावकै कारण बणियामा पाँच वर्षदेखि लिफ्ट खानेपानी अलपत्र पर्दा यहाँका नागरिकलाई समस्या भएको दोगडाकेदार गाउँपालिका–२ का वडाध्यक्ष विष्णुदत्त भट्टले बताउनुभयो । बडिया र कणेलीगाउँका ३०० घरपरिवारलाई बाह्रै महिना खानेपानीको समस्या हुने गरेको छ ।

उहाँले भन्नुभयो,“ प्रदेश सरकारले निर्माण गरिरहेको लिफ्ट खानेपानी योजना सम्पन्न भएपछि यहाँका नागरिकलाई राहत हुने थियो । हाल भने खानेपानीको निकै समस्या छ। ”

बजेट बढेर आउनुको सट्टा घटेर आउँदा लिफ्ट खानेपानी निर्माणको काम वर्षौसम्म सम्पन्न हुन नसकेको वडाध्यक्ष भट्टको भनाई छ । उहाँले भन्नुभयो,“योजना निर्माणको काम क्रमागत रुपमा चलिरहेको छ ।आगामी वर्ष सम्पन्न हुने आस छ ।”

बणियामा खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले पाँच वर्षअघि तीन करोड ९६ लाख रुपियाँमा लिफ्ट खानेपानी योजना निर्माण सुरु गरेको डिभिजन खानेपानी कार्यालय बैतडीले जनाएको छ ।

कार्यालयका प्रमुख गोविन्दप्रसाद देवकोटाले उक्त योजनाको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“ उक्त योजना चार वटा स्किममा काम भइरहेको छ । जसमध्ये तीन वटा स्किम लिफ्ट प्रविधिको भएकाले मोटर चलाउन विद्युत्का पोल गाडेर तार तान्ने काम पूरा भएको छ । निर्माण सम्पन्नका लागि केही समय अझै लाग्छ ।”

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!