बैतडी: हावाहुरी र असिनापानीका कारण बैतडीमा व्यापक क्षति भएको छ ।
आज बेलुका एक्कासी आएको हावाहुरी, वर्षाका कारण यहाँ विभिन्न क्षेत्रमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
हावाहुरीले सिगास गाउँपालिका २ मैतडका विष्णु बोहराको दुईतले दुई कोठे , जस्तापाताले छाएको घरको छाना उडाएको छ ।
छाना उडाउदा जस्तापाताले लागेर घरभित्र रहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।
टेकेन्द्रको टाउकोमा चोट लागेको छ ।
सिगास–५ खैरकोट, सल्याली, ढुंगाडका केही घरहरुमा पनि हावाहुरीले क्षति पुगेको छ ।
यस्तै हावाहुरीले पाटन नगरपालिका ८ धारीमा रहेको दुई कोठे एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छाना उडाएको छ ।
उक्त सामुदायिक भवनको छाना उडाएर नजिकै रहेको विनोद महराको घरबाहिर बाधेर राखेको भैसीको पाडालाई लाग्न गइ मरेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।
डिलाशैनी गाउँपालिका ६ नेगाउमा रहेको निङलासैनी आधारभूत विद्यालयको शौचालयमा पनि हावाहुरीले रुख ढल्दा क्षति पुगेको छ ।
हावाहुरीका कारण सडकमा रुख ढलेर महाकाली राजमार्ग पनि अवरुद्ध बनेको थियो । डिलाशैनी ६ बांगाबगरमा रुख ढलेर केहीबेर अवरुद्ध भएको राजमार्ग सुचारु भइरहेको उहाँले बताउनुभयो ।
असिनापानीले फलफूल र तरकारीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका ४ का उमेश भट्टले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“एक्कासी आएको असिनापानीले वर्षे फलफूल र तरकारीमा ठुलो क्षति पुगेको छ। ”
हावाहुरीका कारण विद्युत सेवा पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । विद्युत नहुँदा जिल्लाभरी अन्धकार भएको छ ।
अवरुद्ध विद्युत सेवा सुचारुका लागि प्रयास भइरहेको नेपाल विद्युत प्राधिकरण बैतडीका प्रमुख जनार्दन पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ हावाहुरी र चट्याङसहितको वर्षाका कारण विद्युत सेवा अवरुद्ध भएको छ। सुचारुका लागि प्रयास भइरहेको छ ।”
जिल्लाका अन्य ठाउँमा पनि हावाहुरी र असिनापानीले क्षति पुर्याएको खबर रहेको छ ।
यसअघि गत चैत अन्तिम साता पनि असिनापानीले पाक्न लागेको गहुँबाली,तरकारी र बेर्नामा व्यापक क्षति पुर्याएको थियो ।
