बैतडीमा तीनहप्तादेखि रेबिजविरुद्ध खोप अभाव

बैतडी: बैतडीमा गएको ३ हप्तादेखि रेबिजविरुद्ध दिइने खोपको अभाव भएको छ ।

खोप अभाव हुँदा जनवारले टोकेर रेबिजविरुद्ध दिइने खोप लगाउन स्वास्थ्य संस्था तथा अस्पताल पुग्ने व्यक्ति जिल्लाबाहिर जान बाध्य भएका छन्।

गएको ३ हप्तादेखि रेबिजविरुद्धको खोपको अभाव रहेको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो ।

खोप अभावबारे प्रदेश आपूर्तिकेन्द्रलाई जानकारी गराउदा समेत हालसम्म पनि उपलब्ध हुन सकेको छैन् ।

उहाँले भन्नुभयो,“ गएको ३ हप्तादेखि यहाँ रेबिजविरुद्धको खोपको अभाव रहेको छ । खोप अभावबारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराइसकेका छौं ।”

जिल्लाको तीनस्थानमा रेबिजविरुद्धको खोप दिइने गरिन्छ । सदरमुकामस्थित जिल्ला अस्पताल,पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट रेबिजविरुद्धको खोप दिइने गरिन्छ ।

पछिल्लो समय जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रहरुमा खोप अभाव रहेकाले जनावरले टोकेर आउने बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् ।

कुनै जनावरले टोकेमा एकजनाले तीन डोज रेबिजविरुद्धको खोप लगाउनुपर्ने हुन्छ । तर खोपको अभावमा त्यस्ता व्यक्तिहरुलाई फर्काउनु परेको छ ।

कुकुर,बिरालो लगायतका घरपालुवा जनावर र स्याल,ब्वाँसो जस्ता जंगली जनावरहरुले टोकेमा रेबिजविरुद्धको खोप लगाउनुपर्ने हुन्छ ।

रेबिज भाइरसबाट लाग्ने रोग हो । यो मुख्यतया जनावरमा लाग्ने रोग हो तर यो संक्रमित जनावरबाट मानिसमा पनि सर्छ ।

यो भाइरस संक्रमित जनावरको ¥यालमा रहन्छ र जब जनावरले मानिसलाई टोक्छ र भाइरस मानिसमा सर्छ । संक्रमित ¥यालले कसैको आँखा, मुख वा खुला घाउबाट संक्रमण हुनसक्ने पनि सम्भावना समेत रहेको हुन्छ ।

रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ ।

रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ ।

रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ ।

रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!