काठमाडौं: आईसीसी टी-२० विश्वकप २०२४ अमेरिकामा सुरु भएको छ । उद्घाटन खेलमा घरेलु टाेली अमेरिकाले क्यानडालाई ७ विकेटले हरायो ।
पछिल्लो समय उत्कृष्ट लयमा देखिएको अमेरिकाले १९५ रनको विशाल लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । अमेरिकालाई जिताउनका लागि आरोन जोन्सले नटआउट ९४ रनको पारि खेले ।
लक्ष्य पछ्याउने क्रममा सुरुआत भने राम्रो रहेन । २ बल फेस गरेका स्टेभन टेलर खाता नखोल्दै आउट हुँदा अमेरिकाले पहिलो विकेट गुमाएको थियो । त्यसपछि कप्तान मोनाक पटेल र एन्ड्रिस गोउसले पारि अघि बढाए । मोनक पटेल १६ बलमा १६ रन बनाएर आउट हुँदा अमेरिकाले ६.३ ओभरमा ४२ रन बनाएको थियो ।
त्यसपछि एन्ड्रेस र आरोन जोनसनले उत्कृष्ट प्रदर्शन गरेपछि क्यानडाले दिएको विशाल लक्ष्य पनि अमेरिकाले सहज पूरा गर्नका लागि आधार तय भयो ।
यी दुई बीच ५८ बलमा १३१ रनको साझेदारी भएको थियो । एन्ड्रेस ४६ बलमा ६५ रन बनाएर क्याच आउट भएका थिए । उनले तीन छक्का र सात चौका प्रहार गरे । उनी आउट हुँदा अमेरिकाले १५.४ ओभरमा १७३ रन बनाएको थियो । त्यसपछि जोन्स र कोरि एन्डरसनले जिताए । जोन्सले ४० बलमा ९४ रनको नटआउट पारि खेल्दा १० छक्का र चार चौका प्रहार गरे । एन्डरसन ५ बलमा ३ रनमा नटआउट रहे । क्यानडाका कलिम साना, डिलोन हेइलगर र निखिल दत्तले एक एक विकेट लिए ।
डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो।
जसमा नवनीत धालिवाल र निकोलस किर्तनको अर्धशतक हाने ।
धालिवालले सर्वाधिक ६१ रन बनाए। ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। पहिलो विकेटका लागि उनले अरन जोन्सनसँग ३२ बलमा ४३ रनको साझेदारी गरेका थिए।
जोन्सन छैटौं ओभरको दोस्रो बलमा २३ रनमा आउट भए। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए।
दिलप्रीत सिंह ११ र पर्गट सिंह ५ रनमा आउट हुँदा श्रेयस मोब्बा ३२ र डिलन हेलिगर १ रनमा अविजित रहे। अमेरिकाका अली खान, हरमीत सिंह र कोरी एन्डर्सनले १/१ विकेट लिए।
वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता एक महिनासम्म चल्नेछ। वेस्ट इन्डिजले दोस्रोपटक विश्वकप आयोजना गर्न लागेको हो भने अमेरिकाले पहिलो मौका पाएको हो । प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछन्। पछिल्लो संस्करणमा १६ टोलीको मात्र सहभागिता रहेको प्रतियोगितामा यसपटक ४ टोली थपेर २० टोलीमा पुर्याइएको हो।
सहभागी २० टोलीमा सन् २०२२ को विश्वकपको शीर्ष आठ र टी–२० वरीयताको आधारमा दुई टोलीले सिधैं स्थान बनाउँदा अन्य ८ टोली क्षेत्रीय छनोटबाट स्थान बनाएका हुन्।
यस्तै वेस्ट इन्डिज र अमेरिका आयोजकको रूपमा सिधैं विश्वकप खेल्न पाएका हुन्। आयोजक अमेरिकासँगै क्यानडा र युगान्डाले पहिलोपटक विश्वकप खेल्दैछन्। सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘डी’मा छ।
