बैतडी:शिक्षक आन्दोलनका कारण स्थगित भएका परीक्षाहरु धमाधम हुन थालेका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिकामा आधारभूत तह कक्षा ५ र ८ को ग्रेडवृद्धि परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।
यसअघि वैशाख १२ गतेदेखि हुने भनिएको उक्त परीक्षा शिक्षकहरुको आन्दोलनका कारण स्थगित गरिएको थियो ।
नेपाल शिक्षक महासंघको आन्दोलनका कारण रोकिएको ग्रेडवृद्धि परीक्षा यही वैशाख २५ र २६ गते सञ्चालन हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख चक्रदेव जोशीले जानकारी दिनुभयो ।
गएको फागुन २५ देखि चैत ४ गतेसम्म सञ्चालन भएको परीक्षामा बढीमा दुई बिषयमा ननग्रेड ल्याएका विद्यार्थीहरुका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
ग्रेडवृद्धि परीक्षा यसअघिको परीक्षा सञ्चालन भएका केन्द्रमै सञ्चालन हुनेछन् ।
परीक्षाका लागि आवश्यक तयारी थालिएको सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो ।
