प्रेस स्वतन्त्रता दिवसः बैतडीमा कैदीबन्दीलाई पुस्तक वितरण

बैतडी:विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बैतडीले कौदीबन्दीहरुलाई पुस्तक वितरण गरेको छ ।

दिवसको अवसरमा कारागार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर प्रेस स्वतन्त्रताका लागि सरोकारवालासंग छलफल र कैदीबन्दीहरुलाई पुस्तक वितरण गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बैतडीका सचिव विनोद सिंह विष्टले जानकारी दिनुभयो ।

जिल्ला कारागारका कैदीबन्दीहरुलाई ज्ञानवर्धक पुस्तक वितरण गर्नुका साथै सरोकारवालाहरुसंग अन्र्तक्रिया गरेर दिवस मनाइएको हो ।

भागवत गीता, चारवटै वेदको नेपाली सारांस, चाणक्य नीति लगायतका धार्मिक तथा अन्य ज्ञानवर्धक उपन्यास तथा जिवनीसम्बन्धि पुस्तकहरु वितरण गर्दै प्रेस स्वतन्त्रता दिवस मनाइएको नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरी बडुले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ पुस्तक वितरणसंगै कारागार तथा कैदीबन्दीका समस्या तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका बारेमा अन्र्तक्रिया कार्यक्रम गरेर दिवस मनाएका छौं ।”

जिल्ला कारागार बैतडीका चौकीदार गाणेशसिंह ऐरीले राखेका समस्या तथा मागहरुको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले उक्त मागहरुको सम्वोधन गरिने बताउनुभयो । जिल्ला कारागारमा खानेपानीको अपर्याप्ततालाई छिट्टै समाधान गरिने उहाँको भनाई थियो ।

कार्यक्रममा उपस्थित संविधानसभा सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) ले प्राप्त पुस्तकहरु अध्ययन गरेर कैदीबन्दीहरुले सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“ लोकतान्त्रिक गणतन्त्र फस्टाउनका लागि स्वतन्त्र पे्रस हुनुपर्ने र सञ्चारमाध्यमले खोजमूलक तथा जनताका आवाजहरुलाई उजागरमा ध्यान दिन जरुरी छ ।”

यस्तै नेपाली कांग्रेसका सहसचिव दिपेन्द्र बहादुर चन्दले लोकतन्त्र र स्वतन्त्र प्रेस एक अर्काका लागि अपरिहार्य तथा अनिवार्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ लोकतान्त्रिक मुलुकमा मात्रै स्वतन्त्र प्रेस हुने कुरामा दुईमत छैन, राज्यको चौथो अंगका रुपमा मानिएको प्रेसले जनताको आवाज बोल्नमा चुक्नुहुदैन ।”

कार्यक्रममा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिती रहेको थियो ।

नेपाल पत्रकार महासंघले देशभर विभिन्न कार्यक्रम गरेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!