काठमाडौं: आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम तयारीका लागि नेपाली महिला क्रिकेट टोली भारत प्रस्थान गरेको छ।
भुटानमा तय भएको टुर रद्द भएपछि नेपालले वैकल्पिक योजना अन्तर्गत भारतमा अभ्यास गर्ने निर्णय गरेको हो।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोलीले दिल्लीमा अभ्यास खेलहरू खेल्नेछ ।
क्यानको वार्षिक कार्यतालिकाअनुसार अप्रिल महिनामा ‘नेपाल टुर अफ भुटान’ तय गरिएको थियो। तर, भुटानमा हुने शृंखलामा पर्याप्त अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता सुनिश्चित नहुँदा टुर रद्द गरिएको हो।
आगामी एसिया छनोटको तयारीस्वरूप नेपाली महिला टोलीले हालसम्म थुप्रै प्रतिस्पर्धात्मक अनुभव बटुलेको छ। टोलीले हालै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग घरेलु मैदानमा मैत्रीपूर्ण टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो भने युगाण्डामा चारदेशीय टी–२०आई शृंखलामा समेत सहभागिता जनाएको थियो।
विश्वकप छनाेट ९ मे देखि २० मेसम्म थाइल्यान्डमा हुनेछ। प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई छन्।
यसैबीच,क्यानले एसिया छनोटका लागि अन्तिम टोली पनि घोषणा गरिसकेको छ।

