काठमाडौं: मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई ९ विकेटले हराएको छ।
जितको लागि १ सय ७७ रनको चुनौति पछाएको मुम्बईले १५.४ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्याे।
उसका रोहित शर्मा र सूर्य कुमार यादवले दोस्रो विकेटको लागि अविजित १ सय १४ रनको शतकीय साझेदारी गरे।
रोहितले अविजित ७६ र सूर्यकुमारले अविजित ६८ रन बनाए।
बलिङमा चेन्नईले रबिन्द्र जडेजाले एक विकेट लिए।
त्यसअघि वाङखेडे स्टेडियममा मुम्बईले टस जित्यो र फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनायो।
रविन्द्र जडेजा र शिवम दुबेले अर्धशतक बनाउँदै इनिङ्स सम्हाले। शिवमले ३२ बलमा २ चौका र ४ छक्का सहित ५० रन जोडे।
जडेजा अविजित ५३ रनमा क्रिजमा रहे।
मुम्बईको चौथो जित हो। ८ अंक सहित सातौं स्थानमा उक्लिएको छ।
चार अंक सहित अंक तालिकाको पुछारमा रहेको चेन्नईको यो छैटौं हार हो।

