धाेनीकाे कीर्तिमानमा चेन्नईले लखनउलाई हरायाे

काठमाडौं: महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ।

सोमबार सम्पन्न खेलमा चेन्नईले लखनऊ सुपर जायन्ट्सलाई पाँच विकेटले पराजित गरेको हो। योसँगै लखनऊको तीन खेलको अपराजित यात्रा टुंगिएको छ। लखनऊको सात खेलबाट आठ अंक छ।

समान खेलबाट पुछारमा रहेको चेन्नईले चार अंक पुर्‍याएको छ। योसँगै चेन्नईले पाँच खेलको जितविहीन यात्रा टुंगाएको हो। लखनऊले प्रस्तुत गरेको १६७ रनको लक्ष्य पछ्याएको चेन्नईले तीन बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै १६८ रन बनाएको हो।

चेन्नईका शिबम दुवेले सर्वाधिक ४३ रन बनाए। अविजित रहेका उनले ३७ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। उनले धोनीसँगै छैटौं विकेटका लागि अविजित ५७ रनको साझेदारी गर्दै जित दिलाए।

धोनीले ११ बलमा चार चौका र एक छक्कासहित २६ रन बनाए। ओपनरद्वय रचिन रवीन्द्र ३७ र शेख राशिद २७ रनमा आउट भए।

लखनऊका रवी विश्नोइले सर्वाधिक दुई विकेट लिए। तीन ओभर बलिङ गरेका उनले २५ रन खर्चिए। दीग्भेश राठी र एडन माक्रमको नाममा समान एक विकेट रह्यो।

त्यसअघि भारतरत्न श्री अटल बिहारी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रनको योगफल तयार गरेको थियो।

लखनऊका कप्तान ऋषभले सर्वाधिक ६३ रन बनाए। उनले ४९ बलमा चार चौका र चार छक्का प्रहार गरे। मिचेल मार्शले २५ बलमा समान दुई चौका र छक्कासहित ३० रन बनाए। आयुष बडोनी २२ र अब्दुल समाद २० रनमा भए।

चेन्नईका रवीन्द्र जडेजा र मथिशा पाथिरानाले समान दुई विकेट लिए। खलिल अहमद र अन्सुल काम्बोजको नाममा एक/एक विकेट रह्यो।

यसैबीच भारतीय लेजेण्ड तथा इन्डियन प्रिमियर लिग (आईपीएल) टिम चेन्नई सुपर किंग्सका पूर्व एवम् हालका निमित्त कप्तान महेन्द्रसिंह धोनीले  आईपीएलको इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।

४३ वर्षीय धोनी आईपीएल इतिहासमा २०० डिसमिसल पूरा गर्ने पहिलो विकेटकिपर बनेका छन् ।

सोमबार भइरहेको लखनउ सुपर जायन्ट्समा आयुष बदोनीलाई स्टम्पिङ आउट गर्दै उनले २००औं डिसमिसल पूरा गरेका हुन् ।
धोनीका २०० डिसमिसलमध्ये १५४ क्याच र ४६ स्टम्पिङ छन् जुन विकेटकिपरको हैसियतमा एक अद्वितीय रेकर्ड हो।

धोनी एकमात्र त्यस्ता खेलाडी हुन् जसले आईपीएल इतिहासमा ५,००० भन्दा बढी रन र २०० भन्दा बढी विकेटकिपिङ डिसमिसल दुवै पुरा गरेका छन्।

उनको कप्तानीमा चेन्नई सुपर किंग्सले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा गरी पाँच पटक आईपीएलको उपाधि जितेको छ ।

उनी आईपीएल इतिहासमै सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने खेलाडी हुन्, जसले २३० भन्दा बढी खेलमा टिमको नेतृत्व गरेका छन्।  धोनीको कप्तानीमा चेन्नई १० पटक फाइनलमा पुगेको छ, जुन आफैंमा एक अर्को रेकर्ड हो।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!