काठमाडौं: लगातार चौथो जित निकाल्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा शीर्ष स्थानमा उक्लिएको छ।
पहिलो खेलमा पञ्जाब किङ्ससँग ३६ रनले पराजित हुँदै गुजरातले आफ्नो सिजन सुरुआत गरेको थियो। तर, त्यसयता खेलेका चार खेलमा गुजरात शतप्रतिशत जित निकाल्न सफल भएको हो।
बुधबार भएको खेलमा राजस्थान रोयल्सलाई ५८ रनले हराउँदै गुजरातले चौथो जित निकालेको हो ।
गुजरातले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १९.२ ओभरमा १५९ रनमा अलआउट भयो । शिमरोन हेटमायरले सर्वाधिक ५२ रन बनाएपनि पर्याप्त हुन सकेन । कप्तान सन्जु सामसनले ४१ रन बनाए ।
गुजरातका प्रसिद कृष्णाले ३ विकेट लिए भने आरु साइ किशोर र राशिद खानले २-२ विकेट लिँदा मोहम्मद सिराज, अर्शाद खान र कुलवान्त खेजरिलियाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको थियो । साइ सुदर्शनले सर्वाधिक ८२ रन बनाए । ५३ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे ।
जस बटलर र शाहरुख खानले समान ३६ रन बनाउँदा राहुल तेवातिया २४ रनमा अविजित रहे । राजस्थानका तुषार देशपाण्डे र महीश थिक्सानाले २-२ तथा जोफ्रा आर्चरले १ विकेट लिए ।
यस जितसँगै ५ खेलमा चौथो जित निकालेको गुजरात ८ अंकसहित तालिकामा शीर्ष स्थानमा उक्लिएको छ भने ५ खेलमा ४ अंक मात्र भएको राजस्थान सातौं स्थानमा छ ।

