बैतडी: गोली प्रहार गरी भाइको हत्या गरेका बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४२ वर्षीय कर्णबहादुर बिष्टलाई कारागार चलान गरिएको छ ।
जिल्ला अदालतले विष्टलाई पुर्पक्षका लागि कारागार चलान गरेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
प्रहरीले कर्तव्य ज्यान मुद्धामा अनसुन्धान सकेर अदालत बुझाएको र अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
गत फागुन १७ गते ४० हजार रुपैयाँ लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले आफ्नै भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरेका थिए ।
स्याल भनेर चिनिने कर्णबहादुर हत्यापश्चात बन्दुकसहित फरार रहेका थिए ।
फरार भएका कर्णबहादुरलाई गएको फागुन २३ गते भारत भाग्दै गरेको अवस्थामा दार्चुलाको महाकाली नगरपालिका ९ दत्तु नजिकबाट प्रहरीले पक्राउ गरिएको थियो ।
कर्णबहादुरले हत्यामा प्रयोग गरेको बन्दुक र त्यसमा प्रयोग हुने सिसागोलीलगायतका सामग्री स्थानीय पत्थरखानीको ओढारमा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारेको थियो ।

