हैदरावाद आइपिएल क्रिकेटको फाइनल प्रवेश

काठमाडौं: सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग आइपिएलमा फाइनल प्रवेश गरेको छ।

शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयललाई ३६ रनले पराजित गर्दै हैदरावादले कोलकातासँगको भेट पक्का गरेको हो।

सनराइजर्स हैदरावादले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थान निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएपछि ३६ रनले पराजित भएको हो। 

राजस्थानका लागि ध्रुव जुरेलले अविजित रहँदै सर्वाधिक ५६ रन बनाए। ३५ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे।

ओपनर यशस्वी जायसवाल ४२ रनमा आउट हुँदा राजस्थानका अन्य ब्याटर चल्न सकेनन्। 

हैदरावादका शाहबाज अहमदले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेकका उनले २३ रन खर्चिए। अभिषेक शर्माले २ विकेट लिँदा प्याट कमिन्स र थंगारसु नटराजनको नाममा १/१ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७५ रन बनाएको थियो।

क्लासनले सर्वाधिक ५० रन बनाए। ३४ बल खेलेका उनले ४ चौका प्रहार गरे। राहुल त्रिपाठी ३७, ट्रैविस हेड ३४, शाहबाज अहमद १८ र अभिषेक शर्मा १२ रनमा आउट हुँदा प्याट कमिन्स ५ रनमा अविजित रहे।

राजस्थानका ट्रेन्ट बोल्ड र आवेश खानले ३/३ विकेट लिए। सन्दीप शर्माको नाममा २ विकेट रह्यो।

अब हैदरावदले उपाधिका लागि कोलकाता नाइट राइडर्सको सामना गर्ने भएको छ। मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगिसकेको छ। यी दुई टोलीबीचको फाइनल खेल आइतबार चेन्नईमा हुने छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!