बैतडी: हत्यामा संलग्न बैतडीको दाेगडाकेदार गाउँपालिका-८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्टलाई पक्राउ गर्न प्रहरी सफल भएको छ।
गत शनिबार गाउँमै भाई नाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टकाे गाेली प्रहार गरि कर्णबहादुरले हत्या गरेका थिए।
हत्यापश्चात फरार रहेका कर्णबहादुरलाई प्रहरीले नेपाल-भारत सीमा दार्चुलाकाे दत्तुबाट शुक्रबार पक्राउ गर्याे।
बन्दुकसहित फरार रहेका विष्टलाई प्रहरीले माेबाइल लाेकेशनका आधारमा समात्न सफल भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयाे।
उहाँले भन्नुभयाे,”कर्णबहादुरलाई समात्न सफल भएका छाैं।बन्दुक गाउँकै जंगलमा छाेडेकाे भन्ने खुल्न आएको छ। बन्दुक पनि फेला पर्छ हाेला।”
स्याल उपनामले परिचित कर्णबहादुर यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेका खुल्न आएको छ।
कर्णबहादुरले चारवटा सीम प्रयाेग गर्दै आएका थिए। त्यसमध्ये एउटा भारतीय सीम थियाे ।
नेपाली सीम बन्द अवस्थामा राखेर भारतीय सीम प्रयाेग गरिरहेका कर्णबहादुरलाई प्रहरीले समातेकाे हाे।
सीमाक्षेत्रबाट प्रकाउ परेका विष्ट अहिले बैतडी प्रहरीको नियन्त्रणमा रहेका छन्।
घटना भएकै दिनदेखि कर्णबहादुरकाे खाेजीका लागि सीमानाका र घटनास्थल आसपास प्रहरी परिचालन गरिएको थियाे।
शनिबार राति ८ बजेतिर घटनाभएलगत्तै प्रहरीले कर्णबहादुरकाे खाेजी शुरू गर्याे।
कर्णबहादुर शिकारी रहेकाले सिकार गर्दै यसअघि पनि कयौंदिन जंगलमै बस्ने गरेका थिए।
बन्दुकसहित फरार रहेका कर्णबहादुर प्रहरीमाथि पनि आक्रमण गर्छन कि भन्ने डर समेत रहेकाे थियाे। त्यसका बाबजुद पनि प्रहरीले त्याे रातभरि खाेजी गर्याे। तर कर्णबहादुर भेट्टिएनन्।
सवारी साधनमा र सीमानाकामा चेकजाँचमा कडाइ गरियाे।
बन्दुकसहित भागेकाले प्रहरीले इन्काउन्टर समेतकाे याेजना बनाएर कर्णबहादुरलाई पक्राउ गर्ने याेजना बनाएकाे थियाे।
तर माेबाइल लाेकेशन हेर्दै जाँदा कहिले गाउँनजिकै देखिने कहिले दार्चुला एरियामा देखिने गर्दथ्याे।
घटना भएकाे दुई दिनसम्म कर्णबहादुर गाउँकै जंगलमा लुुकेका र त्यसपछि दार्चुलास्थित दत्तु आसपास देखिए।
नेपाल-भारत सीमा क्षेत्रमा उनको लाेकेशन देखिन थालेपछि प्रहरीले त्यहाँ निगरानी बढायाे। कर्णबहादुर साे क्षेत्रबाटै फेसबुकमा अनलाइन समेत देखिने गरेका थिए।
दत्तु क्षेत्रमा उनकाे लाेकेशन देखिन थालेपछि बैतडी र दार्चुलाकाे प्रहरीकाे संयुक्त टाेली परिचालन भयाे।
सादा पाेसाकमा समेत खटिएका प्रहरी टाेलीले उनकाे खाेजी व्यापक गर्याे।
अन्तिममा भारत भाग्दै गरेकाे अवस्थामा नेपाल-भारत सीमाक्षेत्रमा एउटा घरमा लुकेकाे अवस्थामा प्रहरीले समात्न सफल भयाे।
कर्णबहादुर समातिए पनि उनले हत्यामा प्रयाेग गरेकाे बन्दुक फेला परेकाे छैन्।
पक्राउपछि भरूवा एकनाले उक्त बन्दुक घटनास्थल आसपास लुकाएर आफू भागेकाे पक्राउपछि साेधपुछका क्रममा उनले बताएका प्रहरी स्राेतले जनाएको छ।
पक्राउ परेका कर्णबहादुर यसअघि हातहतियार ओसारपसारकाे मुद्दामा मुछिएका व्यक्ति समेत हुन्।
कर्णबहादुरमाथि कर्तव्य ज्यान मुद्दासम्बन्धि अनुसन्धान अगाडि बढाइने भएको छ।
लेनदेनकाे विषयमा विवाद हुँदा शनिबार बेलुका ८ बजेतिर घर नजिकैकाे हाेटेलमा खाना खाइरहेका बेला यातायात व्यवशायी समेत रहेका सुरेन्द्रमाथि कर्णबहादुरले गाेली प्रहार गरेका थिए।
सुरेन्द्रले कर्णबहादुरबाट ४० हजार रूपैयाँ असुल गर्नुपर्ने र साेहि विषयमा विवाद भएकाे र त्यसपश्चात गाेलीकाण्ड भएकाे खुल्न आएको छ।
गाेली प्रहार लगत्तै सुरेन्द्रलाई स्थानीयबासिन्दाले उपचारका लागि जिल्ला अस्पताल पुर्याए। अस्पताल पुर्याउदा चिकित्सकले शनिबार राति नै मृत घाेषणाा गरेका थिए। घटनापश्चात कालागाउँ अशान्त समेत बनेको छ।
