बैतडी:गाेली प्रहार गरि भाईकाे हत्या गर्ने बैतडीको दाेगडाकेदार गाउँपालिका-८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्ट अझै फरार अवस्थामा रहेका छन्।
गत शनिबार कर्णबहादुरले भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टकाे गाेली प्रहार गरि हत्या गरेका थिए।
गाेली प्रहार गरेलगत्तै कर्णबहादुर बन्दुकसहित फरार भएका थिए।
फरार कर्णबहादुरलाई पाँच दिनसम्म पनि समात्न नसक्दा सुरक्षा चुनाैती बढ्नुका साथै प्रहरीमाथि प्रश्नचिह्न खडा हुन थालेकाे छ।
पाँचदिन बितिसक्दा समेत फरार रहेका उनलाई प्रहरीले पक्राउ गर्न नसक्दा स्थानीयबासिन्दाले प्रहरीमाथिसमेत शंका गर्न थालेका छन्।
अपराधमा संलग्न व्यक्तीलाई पाँच दिनसम्म पनि समात्न नसक्नु प्रहरीको लापरबाही रहेकाे मृतकका आफन्त राजेन्द्र विष्टले बताउनुभयो ।
गाउँकाे बीचमा यतिठुलाे घटना हुँदा समेत जिल्लाकाे प्रहरी प्रशासनकाे नेतृत्व घटनास्थल पुगेकाे छैन ।
उहाँले भन्नुभयाे,”घटनाभएकाे पाँच दिनसम्म गम्भीर अपराधमा संलग्नलाई प्रहरीले समात्न सकेकाे छैन्। यसमा प्रहरी प्रशासन चुकेकाे छ। गम्भीर भएर घटनामा संलग्नलाई समात्नुपर्छ।”
मृतकका आफन्तले तालिमप्राप्त कुकुरसहित प्रहरीको विषेश टाेली समेत परिचालन गर्न माग गरेकाे छ।
यता प्रहरीले भने घटनामा संलग्न कर्णबहादुरकाे खाेजीका लागि व्यापक प्रहरी परिचालन गरिएको जनाएको छ।
बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले हतियारसहित प्रहरी टाेली परिचालित रहेकाे बताउनुभयो । उहाँले भन्नुभयो,” सादा पाेसाक र हतियार सहित प्रहरी परिचालन गरेका छाैं।
भारततर्फ फरार हुन सक्ने भन्दै सीमानाकामा समेत कर्णबहादुरकाे हुलियासहित परिपत्र गरिएकाे छ।
यसका साथै माेबाइल लाेकेशन र जनसम्पर्ककाे आधारमा खाेजी रहेकाे प्रवक्ता बडूले जानकारी दिनुभयाे।
घटना भएलगत्तै आसपासका सबै नाका सिल गरेर कर्णबहादुरकाे माेबाइल लाेकेशन र जनसम्पर्ककाे आधारमा खाेजी गरिरहेका छाैं।
उहाँले भन्नुभयाे,” शनिबार घटनाकाे केहिबेरसम्म माेबाईलकाे लाेकेशन कालागाउँ आसपास देखिएकाे छ। त्यसपछि माेबाईल अफ रहेकाे र अहिले लाेकेशन भेट्टिएकाे छैन्।”
माेबाइल लाेकेशन नदेखिन थालेपछि प्रहरीले जनसम्पर्क बढाएर पनि उनकाे खाेजी गरिरहेकाे छ।
गाउँनजिकै जंगलै जंगल रहेकाे र कर्णबहादुर बन्दुकसहित भागेकाेले प्रहरीलाई पनि खाेजीका लागि जाेखिम बढेकाे छ।
प्रहरीले इन्काउन्टर समेतकाे याेजना बनाएर कर्णबहादुरलाई पक्राउ गर्नुपर्ने चुनाैती छ।
कर्णबहादुर शिकारी रहेकाले सिकार गर्दै यसअघि पनि कयौंदिन जंगलमै बस्ने गरेका थिए।
फरार रहेका कर्णबहादुर यसअघि हातहतियार ओसारपसारकाे मुद्दामा मुछिएका व्यक्ति समेत हुन्।
बन्दुकसहित भागेका कर्णबहादुर अझैपनि आपराधिक मानसिकता बाेकेर गाउँमा प्रवेश गर्ने त्रास समेत फैलिएको छ।
लेनदेनकाे विषयमा विवाद हुँदा शनिबार बेलुका ८ बजेतिर घर नजिकैकाे हाेटेलमा खाना खाइरहेका बेला यातायात व्यवशायी समेत रहेका सुरेन्द्रमाथि कर्णबहादुरले गाेली प्रहार गरेका थिए।
सुरेन्द्रले कर्णबहादुरबाट ४० हजार रूपैयाँ असुल गर्नुपर्ने र साेहि विषयमा विवाद भएकाे र त्यसपश्चात गाेलीकाण्ड भएकाे खुल्न आएको छ।
गाेली प्रहार लगत्तै सुरेन्द्रलाई स्थानीयबासिन्दाले उपचारका लागि जिल्ला अस्पताल पुर्याए। अस्पताल पुर्याउदा चिकित्सकले शनिबार राति नै मृत घाेषणाा गरेका थिए।
