बैतडी:लेनदेनकाे विषयमा विवाद हुँदा गाेलीकाण्डबाट एक जनाकाे मृत्यु भएपछि बैतडीको दाेगडाकेदार गाउँपालिका-८ कालागाउँ शाेक र त्रासमा रहेकाे छ।
स्थानीय ४५ वर्षीय कर्णबहादुर विष्टले भाइ नाता पर्ने अन्दाजी २५ वर्षीय सुरेन्द्र विष्टकाे गाेली प्रहार गरि हत्या गरेपछि कालागाउँ शाेक र त्रासमा रहेकाे हाे।
यातायात व्यवशायी समेत रहेका सुरेन्द्र शनिबार बेलुका ८ बजेतिर घर नजिकैकाे हाेटेलमा खाना खाइरहेका बेला कर्णबहादुरले गाेली प्रहार गरेका थिए।
गाेली प्रहार लगत्तै सुरेन्द्रलाई स्थानीयबासिन्दाले उपचारका लागि जिल्ला अस्पताल पुर्याए। अस्पताल पुर्याउदा चिकित्सकले मृत घाेषणाा गरेका थिए।
गाेली काण्ड हुनुअघि सुरेन्द्र र कर्णबहादुरबीच लेनदेनकाे विषयमा विवाद भएकाे खुल्न आएकाे छ।
सुरेन्द्रले कर्णबहादुरबाट ४० हजार रूपैयाँ असुल गर्नुपर्ने र साेहि विषयमा विवाद भएकाे थियाे।
विवाद हुन थालेपछि हाेटेलमा रहेका अन्य व्यक्तिले कर्णबहादुरलाई घर पठाएका थिए।
घरतर्फ गएका कर्णबहादुर केहिबेरमा बन्दुक लिएर केहिबेरमा सुरेन्द्र खाना खाइरहेकाे हाेटेलमा पुगे र सुरेन्द्रकाे पछाडिबाट गाेली प्रहार गरि फरार भए।
बन्दुकसहित फरार रहेका सुरेन्द्रकाे खाेजीका लागि बाक्लाे रूपमा प्रहरीको टाेली परिचालन भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयाे।
स्वयं प्रहरी निरीक्षक बडू समेत परिचालित टाेलीमा रहनुभएकाे छ। यस्तै ईलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साँउद,खाेचलेक प्रहरी चाैकीबाट सई गणेश कडायत नेतृत्वको टाेली पनि कालागाउँ क्षेत्रमा खटिएको छ।
माेबाइल लाेकेशन र जनसम्पर्ककाे आधारमा खाेजी कार्य जारी रहेकाे ईलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साँउदले जानकारी दिनुभयाे।
घटना भएलगत्तै आसपासका सबै नाका सिल गरेर कर्णबहादुरकाे माेबाइल लाेकेशन र जनसम्पर्ककाे आधारमा खाेजी गरिरहेका छाैं। उहाँले भन्नुभयाे,” शनिबार घटनाकाे केहिबेरसम्म माेबाईलकाे लाेकेशन कालागाउँ आसपास देखिएकाे छ। त्यसपछि माेबाईल अफ रहेकाे र अहिले लाेकेशन भेट्टिएकाे छैन्।”
माेबाइल लाेकेशन नदेखिन थालेपछि प्रहरीले जनसम्पर्क बढाएर पनि उनकाे खाेजी गरिरहेकाे छ।
गाउँनजिकै जंगलै जंगल रहेकाे र कर्णबहादुर बन्दुकसहित भागेकाेले प्रहरीलाई पनि खाेजीका लागि जाेखिम बढेकाे छ।
कर्णबहादुर शिकारी रहेकाले सिकार गर्दै यसअघि पनि कयौंदिन जंगलमै बस्ने गरेका थिए।
फरार रहेका कर्णबहादुर यसअघि हातहतियार ओसारपसारकाे मुद्दामा मुछिएका व्यक्ति समेत हुन्।
बन्दुकसहित भागेका कर्णबहादुर अझैपनि आपराधिक मानसिकता बाेकेर गाउँमा प्रवेश गर्ने त्रास समेत फैलिएको छ।
गाउँकाे बीचमा घटना भएपछि गाउँभरि त्रास फैलिएको दाेगडाकेदार गाउँपालिका-८ का वडाध्यक्ष महेन्द्र विष्टले बताउनुभयाे।
दुर्गम गाउँकाे बीचमा गाेलीकाण्ड हुनुले त्रास बढेकाे छ। उहाँले भन्नुभयाे,”आपराधिक मानसिकता भएका व्यक्ति जतिबेला जे पनि गर्न सक्ने भएकाले गाउँमा त्रास बढेको छ।”
त्राससंगै गाउँ शाेकमा समेत डुबेकाे छ। कलिलाे उमेर सुरेन्द्रकाे नराम्रो घटनाले सुरेन्द्रकाे ज्यान गएपछि गाउँ शाेकमा डुबेको हाे।
घरपरिवारमा असह्य पीडा भएकाे छ भने गाउँ नै शाेकमा डुबेकाे वडाध्यक्ष विष्टले बताउनुभयो ।
मृतक सुरेन्द्रले केही महिना अगाडिमात्रै प्रेम विवाह गरेका थिए। सुरेन्द्रकाे मृत्युपछि श्रीमती अझै हाेसमा फर्किएकि छैनन्। आमाबुवाकाे आँसु राेकिएका छैनन् ।
गाउँकाे बीचमा भएकाे गाेलीकाण्डले सुरक्षा चुनाैती पनि थपिएको छ।
फरारकाे खाेजी र गाउँमा त्रास बढ्न नदिन प्रहरीको एउटा टाेली घटनास्थल क्षेत्रमा बसिरहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।
घटनापश्चात साे क्षेत्रमा प्रहरी चाैकी स्थापनाकाे माग पनि गरिएको छ।
