फाप्ला:
धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएको पहिलाे खेलमा क्रिकेट एक्सलेन्ट सेन्टर काठमाडौं विजयी भएकाे छ।
काठमाडौंले पहिले जित दर्ता गर्ने क्रममा न्यू हाेराइजन बुटवललाई ६ विकेटले हरायाे।
बुटवलले दिएको १ सय १ रनको लक्ष्य काठमाडौंले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । काठमाडौंका शुभ कन्साकरले नटआउट ५६ रन बनाए । उनी प्लेयर अफ द म्याच भए। बुटवलका तुलबहादुर थापाले २ विकेट लिए ।
यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवलले २० ओभरमा ९ विकेट गुमाएर १ सय रन बनायो । बुटवलका प्रतीक श्रेष्ठले ३७ रन बनाए । काठमाडौंका राज शाह र सूर्य तामाङले ३/३ विकेट लिए ।
यो जीतसँगै काठमाडौं २ खेलमा २ अङ्कसहित समूह ‘बी’ को तेस्रो स्थानमा छ । बुटवल २ खेलमा २ अङ्कसहित दोस्रो स्थानमा छ ।
प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ ।
