फाप्ला:धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगीताको उपाधि एपिएफ क्लबले जितेकाे छ।
आज सम्पन्न फाइनल भिडन्तमा घरेलु टाेली सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटकाे जित निकाल्दै एपिएफले उपाधि रक्षा गर्याे । एपिएफले लगातार दाेस्राेपटक उपाधि जितेकाे हाे।
उपाधिसंगै एपिएफले ५ लाख पुरस्कार पायाे भने सुदूरपश्चिमले ३ लाखमा चित्त बुझायाे।
जितका लागि पाएकाे ६८ रनकाे विजयी लक्ष्य एपिएफले १२.५ ओभरमा १ विकेटकाे क्षतिमा पुरा गर्याे।
जसमा ममता चाैधरीले अविजित ४३, कप्तान ईन्दु बर्मा नटआउट १८ रन जाेडिन्।
यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे सुदूरपश्चिम १८.१ ओभरमा ६७ रनमा समेटियाे ।
जसमा ममता बाेहराले १८ र कप्तान विन्दु रावलले १७ रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन समेत जाेड्न सकेनन् ।
बलिङतर्फ एपिएफका कविता जाेशीले ३, कप्तान ईन्दु बर्मा र सबनम राईले २/२ विकेट हात पारे ।
कविता प्लेयर अफ द म्याच समेत चुनिइन्।
यसैबिच प्रतियाेगिताभर व्यक्तिगत १७२ रन र ५ विकेट हात पारेकी एपिएफकी कप्तान ईन्दु बर्मा प्लेयर अफ द सिरिज भईन्।
यस्तै एपिएफकै लागि २०९ रन बनाएकी ममता चाैधरी बेस्ट ब्याटर र बागमतीका लागि १० विकेट हात पारेकी मनिषा उपाध्याय बेस्ट बलर हुन सफल भईन् ।
प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार पाए।
माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा ९ टाेलीकाे सहभागीता रहेकाे थियाे।
राष्ट्रिय खेलकुद परिषद्काे कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयाेजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे व्यवस्थापनमा प्रतियाेगिता सञ्चालन भएको हाे ।
फाइनल समाराेहमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द,उपाध्यक्ष राेशन सिंह, सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंह, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीलगायतकाे उपस्थिति रहेकाे थियाे।
