प्रधानमन्त्री कपकाे उपाधिका लागि एपिएफ र सुदूरपश्चिम भिड्दै

फाप्ला: धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगीताको उपाधि भिडन्त आज हुँदैछ ।

फाप्ला क्रिकेट मैदानमा बिहान १० बजे हुने फाइनल खेलमा साविक विजेता एपिएफ र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।

शुक्रबार सम्पन्न सुपर फाेरकाे खेलमा त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर एपिएफ फाइनलमा पुगेकाे हाे ।
बागमती प्रदेशमाथि ३० रनकाे जित निकाल्दै सुदूरपश्चिम पनि उपाधि नजिक पुगेकाे हाे ।

इन्दू बर्माकाे कप्तानीमा रहेकाे एपिएफ लिग चरण र सुपर फाेरका सबै खेल जितेर अपराजित भएर फाइनलमा पुगेकाे हाे।

बिन्दु रावलकाे कप्तानीमा रहेकाे सुदूरपश्चिम लिग चरणमा एपिएफसंगकाे एउटा मात्रै खेल हारेर समूह उपविजेताकाे रूपमा सुपर फाेरमा पुगेकाे थियाे ।

सुपर फाेरमा पनि आर्मीसंग पराजित भएकाे सुदूरपश्चिम बागमतीलाई हराएर नेट रनरेटका आधारमा फाइनलमा पुगेकाे हाे ।
युवा टाेली तथा घरेलु मैदान र दर्शककाे समर्थनमा सुदूरपश्चिम उपाधि रक्षा गर्ने दाउमा छ।

यसअघिका सबै खेल जितेर बलियाे देखिएकाे एपिएफ सहजै च्याम्पियन हुने लक्ष्यमा हुनेछ ।

माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा १२ टाेलीकाे सहभागीता रहेकाे थियाे।

राष्ट्रिय खेलकुद परिषद्काे कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयाेजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे व्यवस्थापनमा प्रतियाेगिता सञ्चालन भइरहेको हाे ।

प्रतियोगिताकाे उपाधि जित्नेले ५ लाख, दाेस्राे हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार दिइनेछ ।

फाइनल समाराेहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह,नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतकाे उपस्थिति रहनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!