फाप्ला:धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगीताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र एपिएफ क्लब भिड्ने भएका छन्।
आज सम्पन्न सुपर फाेरकाे अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिमले फाइनल यात्रा तय गर्याे ।
सुदूरपश्चिमकाे जितमा रितु कनाैजियाले अलराउन्ड प्रदर्शन गरिन्।
फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११२ रन बनायाे ।
जसमा रितु कनाैजियाले अविजित ३४ र मनिषा बाेहराले १६ रन जाेडिन्।
सुदूरका अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।
बलिङमा बागमतीका लागि मनिषा उपाध्याय र साेनु खड्काले ३/३ र विपिशा शाहीले १ विकेट हात पारिन्।
जितका लागि पाएकाे ११३ रनकाे लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा ८२ रनमा अलआउट भयाे ।
उसका यसाेदा विष्टले ३० र हिलिसा गुरुङले २३ रन बनाएपनि टाेलीलाई जिताउन सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका कविता कुँवर र करिश्मा थापाले २/२ र रितु कनाैजिया र आशिका महराले १/१ विकेट हात पारिन्।
रितु कनाैजिया प्लेयर अफ द म्याच चुनिइन्।

याे हारले बागमती प्रतियोगिताबाट बाहिरिएको छ।
फाइनल पुगेकाे सुदूरपश्चिमले एपीएफसंगकाे भेट पक्का गरेकाे छ।
यसअघि आजै भएकाे अर्को सुपर फाेरकाे खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर फाइनलमा पुगेकाे छ।
उपाधि भिडन्त शनिबार बिहान १० बजे हुनेछ।
माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा १२ टाेलीकाे सहभागीता रहेकाे थियाे।
राष्ट्रिय खेलकुद परिषद्काे कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयाेजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे व्यवस्थापनमा प्रतियाेगिता सञ्चालन भइरहेको हाे ।
प्रतियोगिताकाे उपाधि जित्नेले ५ लाख, दाेस्राे हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार दिइनेछ ।
फाइनल समाराेहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह,नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतकाे उपस्थिति रहनेछ ।
