महिला विश्‍वकपमा नेपालले अस्ट्रेलियासँग खेल्दै

काठमाडौं: मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को आफ्नो तेस्रो खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ ।

नेपाल र अस्ट्रेलियाबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ ।

नेपालले पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग हार व्यहोरेको थियो । सुपर सिक्समा पुग्नका लागि नेपाललाई यस खेलमा जितको विकल्प छैन । अस्ट्रेलिया भने सुपर सिक्समा पुगिसकेको छ ।

नेपाल बंगलादेशसँग ५ विकेटले पराजित हुँदा स्कटल्याण्डसँग जित नजिक पुगेर १ विकेटले पराजित भएको थियो । अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेट तथा बंगलादेशलाई २ विकेटले हराएको थियो ।

नेपालले महिला क्रिकेटमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो । यसअघिको विश्‍वकपमा सेमिफाइनलसम्म पुगेको अस्ट्रेलिया बलियो टोली हो । त्यसबेला विश्‍वकप खेलेका पाँच खेलाडीहरू अहिले पनि टोलीमा छन् ।

आजको पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई हराएर नेपालले अस्ट्रेलियालाई सामान्य अन्तरले हराएपनि नेपाल सुपर सिक्समा पुग्नेछ ।

स्कटल्याण्डले बंगलादेशलाई हराएको खण्डमा नेपालले बंगलादेशको रनरेटभन्दा अगाडि जाने तरिकाले अस्ट्रेलियालाई हराउनुपर्ने छ ।

अस्ट्रेलियासँग पराजित भएमा नेपाल बाहिरिने पक्का छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!