प्रधानमन्त्री कपमा सुदूरपश्चिमकाे ह्याटि्रक जित, सुपर फाेरमा प्रवेश

फाप्ला: प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएकाे पहिलाे खेलमा जित निकाल्दै सुदूरपश्चिम प्रदेश सुपर फाेरमा प्रवेश गरेकाे छ।

फाप्ला क्रिकेट मैदानमा भएकाे खेलमा कर्णाली प्रदेशमाथि १० विकेटको जित निकाल्दै सुदूरपश्चिम सुपर फाेरमा सुरक्षित भएकाे हाे।

यसअघि गण्डकी र लुम्बिनी प्रदेशलाई हराएकाे सुदूरपश्चिमकाे याे ह्याट्रिक जित हाे । याे जितले सुदूरपश्चिम ६ अंकका साथ अंकतालिकाकाे शिर्ष स्थानमा पनि पुगेकाे छ।

२० ओभरकाे हुने भनिएकाे खेल वर्षाका कारण मैदान भिजेकाले ५ ओभरमा झारिएकाे थियाे।

जितका लागि पाएकाे २१ रनकाे लक्ष्य सुदूरपश्चिमले १.३ ओभरमा बिना विकेटका क्षतिमा भेट्टायाे।
जसमा कविता कुँवरले १४ र मनिषा बाेहराले ५ रनमा रहे।

त्यसअघि टस हारेर ब्याटिङकाे निम्ता पाएकाे कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेटको क्षतिमा २० रन बनाएकाे थियाे। उसका कुनै पनि ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।
सुदूरका लागि प्लेयर अफ द म्याच समेत चुनिएकी आशिका महराले ३,कविता कुँवरले २ र रितु कनाैजियाले १ विकेट हात पारिन्।

माघ १ गतेदेखि सुरू भएकाे प्रतियोगिता ९ टाेलीकाे सहभागीता रहेकाे छ।

सात प्रदेश तथा दुई विभागीय एपीएफ र आर्मीको टोली सहभागीता रहेकाे प्रतियोगिता संयाेजक दिनेश सिंहले बताउनुभयो ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन् ।

प्रतियोगिताकाे उपाधि जित्नेले ५ लाख पुरस्कार पाउने नेपाल क्रिकेट संघका महिला विकास समितिका सदस्य तेजप्रकाश भट्टले बताउनुभयाे।

यस्तै दाेस्राे हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार दिइनेछ ।

प्रथम र द्वितीय पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले र बाँकी पुरस्कारहरूकाे रकम सुदूरपश्चिम खेलकुद परिषद्ले उपलब्ध गराउने जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!