प्रधानमन्त्री कप महिला क्रिकेट सुरु, उद्घाटनमा सुदूरपश्चिम विजयी

बैतडी:प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि धनगढीमा सुरू भएकाे छ।
उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले हराएकाे छ।

जितका लागि पाएकाे ५६ रनकाे लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे।
जसमा रेवती धामीले अविजित रहदै सर्वाधिक २१ रन बनाइन्।
गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले १/१ विकेट हात पारे ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ता पाएकाे गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ५५ रन बनायाे।
उसका रेखा तामाङले १३ र कप्तान शृजना पाैडेलले १० रन हिर्काइन्।
बलिङतर्फ सुदूरपश्चिमका रेवती धामीले ४, रितु कनाैजिया र जानकी थापाले १/१ विकेट झारे।
रेवती प्लेयर अफ द म्याच समेत चुनिइन्।

यसैबीच आजै बिहान प्रतियोगितालाई एक समाराेहकाबीच उद्घाटन गरिएको थियाे।

सुदूरपश्चिम प्रदेशका पूर्व भाैतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले उद्घाटन गर्नुभएकाे उक्त समाराेहमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश चन्द, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी राना, राष्ट्रिय खेलकुद परिषद् अन्तरगत खेलाडी तयारी निर्देशक तथा ओलम्पियन दीपक विष्ट,सुदूरपश्चिम खेलकुद परिषद्का अध्यक्ष दीपकबहादुर सिंह,नेपाल नेपाल क्रिकेट संघका काेषाध्यक्ष पदम खड्का,फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष शुबास शाही,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीलगायतकाे उपस्थिति रहेकाे थियोे ।

राष्ट्रिय खेलकुद परिषद्काे कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयाेजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे व्यवस्थापनमा सञ्चालन भएको प्रतियाेगिता माघ १२ गते सम्पन्न हुनेछ।

प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपीएफ र आर्मीको टोली सहभागीता रहेकाे सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मण भट्टले बताउनुभयाे।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन् ।

प्रतियोगिताकाे उपाधि जित्नेले ५ लाख पुरस्कार पाउने नेपाल क्रिकेट संघका महिला विकास समितिका सदस्य तेजप्रकाश भट्टले बताउनुभयाे।

यस्तै दाेस्राे हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई ३ हजार पुरस्कार दिइनेछ ।
प्रथम र द्वितीय पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले र बाँकी पुरस्कारहरूकाे रकम सुदूरपश्चिम खेलकुद परिषद्ले उपलब्ध गराउने जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!