प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटकाे प्रथम पुरस्कार पाँच लाख

बैतडी: मंगलबारदेखि सुरू हुने प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताकाे तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेश जोशीले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयाे।

मैदानमा पिच निर्माण लगायतका कामकाे तयारी पूरा भएकाे र खेलाडीहरु पनि धनगढी पुग्ने क्रम जारी रहेकाे उहाँले बताउनुभयाे।

मंगलबार बिहान ९ बजे हुने उद्घाटन समाराेहमा सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पुर्वाधारमन्त्री प्रकाश देउवा,नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतकाे उपस्थिति रहनेछ ।

उद्घाटन समाराेहपश्चात हुने पहिलाे खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश भिड्नेछन् ।

माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपीएफ र आर्मीको टोली सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मण भट्टले बताउनुभयाे।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्काे कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयाेजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे व्यवस्थापनमा प्रतियाेगिता हुन लागेकाे हाे ।
प्रतियोगिताकाे उपाधि जित्नेले ५ लाख पुरस्कार पाउने नेपाल क्रिकेट संघका महिला विकास समितिका सदस्य तेजप्रकाश भट्टले बताउनुभयाे।

यस्तै दाेस्राे हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई ३ हजार पुरस्कार दिइनेछ ।

प्रथम र द्वितीय पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले र बाँकी पुरस्कारहरूकाे रकम सुदूरपश्चिम खेलकुद परिषद्ले उपलब्ध गराउने जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!