काठमाडौं: प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ १ देखि सुरु हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् राखेपको वार्षिक बजेटमा उक्त प्रतियोगिता हुन लागेको हाे।
धनगढीको फाप्ला स्टेडियममा माघ १ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ प्रदेश र २ विभागीय टोलीसहित ९ टोलीले सहभागिता जनाउनेछन्।
यस पटक त्रिभुवन आर्मीको महिला टोलीले पनि प्रतियोगितामा पहिलोपटक भाग लिनेछ।
समूह ए: लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, एपीएफ क्लब, र सुदूरपश्चिम प्रदेश।
समूह बी: कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, र त्रिभुवन आर्मी क्लब।
प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। पहिलो दिनको दोस्रो खेलमा कर्णाली प्रदेश र एपीएफबीच प्रतिस्पर्धा हुनेछ।
प्रत्येक समूहको शीर्ष दुई टोली सुपर फोर राउन्डमा प्रवेश गर्नेछन्। सुपर फोरमा समूह ए र समूह बी का शीर्ष टोलीहरूले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। सुपर फोर राउन्डमा एउटै समूहका टोलीबीच भने खेल हुनेछैन।
सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ।

