बैतडी: प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट क्रिकेट प्रतियोगितामा अछामले सान्त्वना जित निकालेकाे छ।
प्रतियोगिताबाट बाहिरिसकेकाे अछामले सान्त्वना जित निकाल्ने क्रममा डाेटीलाई २४ रनले हरायाे।
दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे अछामले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३५ रन बनायाे ।
जसमा रबिना साउँदले अर्धशतकीय पारे खेल्दै अविजित ५२ रन जाेडिन्। जारी प्रतियोगितामा अर्धशतक हिर्काउने पहिलाे खेलाडी समेत बनिन् ।
डाेटीका रेश्मी विष्टले २ विकेट लिइन् ।
जवाफी ब्याटिङ गरेकाे डाेटी १७.४ ओभरमा १०४ रनमा अलआउट भयाे । उसका अल्फा श्रेष्ठले ३९ रनकाे याेगदान गरेपनि जितका लागि सम्भव भएन।
अछामका लागि रबिना साउँद र वबिता धामीले ३/३ विकेट हात पारे। रबिना प्लेयर अफ द म्याच चुनिएकी स्काेरर नरेन्द्र चन्दले बताउनुभयाे।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयाेजना पुस १९ गतेदेखि सुरू भएकाे प्रतियोगिता पुस २५ गते सम्पन्न हुनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनाैट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टाेली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले बताउनुभयाे।
प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलाे सातादेखि धनगढीमा हुँदैछ ।


