बैतडी: नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटको विकास प्राथमिकतामा रहेकाे बताउनुभएकाे छ।
बैतडीको दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा आजदेखि सुरु भएको प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट क्रिकेट प्रतियोगिताकाे उद्घाटन गर्नुहुँदै अध्यक्ष चन्दले महिला क्रिकेटको विकासलाई पनि नेपाल क्रिकेट संघले प्राथमिकता राखेकाे बताउनुभयाे।
उहाँले भन्नुभयाे,” महिला क्रिकेटकाे विकासलाई पनि नेपाल क्रिकेट संघले प्राथमिकतामा राखेकाे छ। महिला खेलाडीलाई पनि तलब दिने र उनीहरूकाे क्षमता अभिवृद्धि हुने खालले प्रतियोगिता आयाेजना गरिरहेका छाैं।”
पुरूष क्रिकेट मल्टी डे फरम्याटमा गइरहेकाे बताउदै उहाँले महिला क्रिकेटलाई पनि वानडे फरम्याटमा लैजाने तयारी रहेकाे बताउनुभयो ।
सुदूरपश्चिम क्रिकेटकाे उर्वरभूमी रहेकाे भएपनि सरकारले यहाँ भाैतिक पुर्वाधार निर्माणलाई प्राथमिकतामा नराखेको आराेप लगाउनुभयाे। उहाँले भन्नुभयाे,”नेपाली क्रिकेटमा सुदूरपश्चिमकाे ठुलाे याेगदान छ।यहाँ पुर्वाधारकाे अभाव छ। सरकारले यसमा ध्यान दिन जरुरी छ।”
लामाे समयसम्म क्रिकेट खेलेका खेलाडीलाई सन्यासपश्चात प्रशिक्षक र अम्पायर तालिम दिने काम क्यानले गरिरहेकाे छ।
उद्घाटन समारोहमा बाेल्दै प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले क्रिकेटको माध्यमबाट नेपाल विश्वमा चिनिएकाे बताउनुभयाे।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले क्रिकेटमा लागेका खेलाडीलाई क्षमता अभिवृद्धि र उमेर समूहका प्रतियोगितालाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
आजदेखि सुरू भएको प्रतियोगिता पुस २५ गतेसम्म सञ्चालन हुनेछ।
