बैतडी: प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुँदैछ ।
बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा हुने प्रतियोगिताकाे सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टले बताउनुभयाे।
प्रतियोगिताकाे उद्घाटन नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम रहेकाे छ।
उद्घाटन समाराेहपश्चात हुने उद्घाटन खेलमा समूह बी मा रहेकाे बैतडी र अछाम भिड्दा अर्काे खेलमा डाेटी र बझाङ खेल्नेछन्।
दशरथचन्द क्रिकेट मैदानमा नेपाल क्रिकेट संघकाे सहयाेगमा दुईवटा टर्फपीच निर्माण गरेपछि यहाँ प्रतियोगिता आयाेजना गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले बताउनुभयो ।
टर्फपीचमा खेल गराउदा खेलाडीलाई माथिल्लो स्तरमा खेल्न सहयाेग पुग्ने भएकाेले यहाँ प्रदेशस्तरीय छनाैट प्रतियोगिता राखिएको जनाएको छ।
पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट संघमा आवद्ध प्रदेश ८ जिल्लाकाे सहभागीता रहने प्रतियोगिता संयाेजक रमेशबहादुर बाेहराले जानकारी दिनुभयाे ।
सार्वजनिक खेलतालिका अनुसार सहभागी हुने आठ टाेलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो ।
समूह ए काे विजेता र समूह बी काे विजेताबीच पुस २५ गते फाइनल भिडन्त हुनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनाैट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टाेली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले बताउनुभयाे।
प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलाे सातादेखि धनगढीमा हुँदैछ ।
