बैतडी: प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार प्रतियोगिता पुस १९ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा हुने भएको हाे ।
दशरथचन्द क्रिकेट मैदानमा नेपाल क्रिकेट संघकाे सहयाेगमा दुईवटा टर्फपीच निर्माण गरिएको छ ।
टर्फपीचमा खेल गराउदा खेलाडीलाई माथिल्लो स्तरमा खेल्न सहयाेग पुग्ने भएकाेले यहाँ प्रदेशस्तरीय छनाैट प्रतियोगिता राखिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले बताउनुभयो ।
पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट संघमा आवद्ध प्रदेश ८ जिल्लाकाे सहभागीता रहने प्रतियोगिता संयाेजक रमेशबहादुर बाेहराले जानकारी दिनुभयाे ।
उक्त छनाैट प्रतियोगिताकाे खेलतालिका सार्वजनिक गरिएको छ।
सार्वजनिक खेलतालिका अनुसार सहभागी हुने आठ टाेलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो ।
समूह ए मा कैलाली,कञ्चनपुर,डडेल्धुरा र दार्चुला रहेका छन्।
समूह बी मा बैतडी,बझाङ,डाेटी र अछामलाई राखिएको छ।
पुस १९ गते हुने उद्घाटन खेलमा समूह बी मा रहेकाे बैतडी र अछाम भिड्दा साेही दिन हुने अर्काे खेलमा डाेटी र बझाङ खेल्नेछन्।
पुस २० गते हुने पहिलाे खेलमा डाेटी र अछाम तथा दाेस्राेमा बैतडी र बझाङ भिड्नेछन् ।
पुस २१ गते पहिलाे खेलमा बैतडी र डाेटी तथा दाेस्राेमा अछाम र बझाङबीच प्रतिस्पर्धा हुनेछ।
पुस २२ गते पहिलाे खेलमा समूह ए मा रहेकाे कैलाली र कञ्चनपुर तथा दाेस्राेमा डडेल्धुरा र दार्चुला खेल्नेछन् ।
पुस २३ गते पहिलाे खेलमा कञ्चनपुर र डडेल्धुरा तथा दाेस्राेमा कैलाली र दार्चुलाबीच भिडन्त हुनेछ।
पुस २४ गते हुने पहिलाे खेलमा डडेल्धुरा र कैलाली तथा दाेस्राेमा कञ्चनपुर र दार्चुला आमने-सामने हुनेछन् ।
पुस २५ गते समूह ए काे विजेता र समूह बी काे विजेताबीच फाइनल भिडन्त हुनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनाैट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टाेली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले बताउनुभयाे।
प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलाे सातादेखि धनगढीमा हुँदैछ ।

