काठमाडौं: पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) काे उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स फाइनलमा भिड्ने भएका छन् । उपाधि भिडन्त त्रिवि क्रिकेट मैदानमा शनिबार मध्याह्न १२ बजेदेखि हुनेछ।
बिहीबार जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले निराश पार्दै सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
समूह चरण र प्लेअफमा सुदूरपश्चिमसँग जनकपुर पराजित भएको थियो । समूह चरणमा सुदूरपश्चिमसँग ७२ रन तथा प्लेअफमा आठ विकेटले जनकपुर स्तब्ध भएको थियो । अब फाइनलमा एकपटक फेरि नम्बर १ र २ टोलीको प्रतिस्पर्धा हुनेछ ।
यो फाइनल विशेष हुनेछ, किनकि सुदूरपश्चिमसँग जनकपुरका लागि बदला लिने अवसर हुनेछ भने सुदूरपश्चिमले आफ्ना नजिकका प्रतिस्पर्धीविरुद्ध जितको ह्याट्रिक बनाउन चाहनेछ ।
विजेताले १ कराेड १० लाख पुरस्कार पाउनेछ। उपविजेताले ५१ लाखमा चित्त बुझाउनुपर्नेछ।
एनपीएल सुरुवातदेखि नै चर्चामा रह्यो । भारतका शिखर धवन, न्यूजिल्याण्डका मार्टिन गप्टिल, जिमी नीशमदेखि इंग्ल्याण्डका रवि बोपाराजस्ता स्टारको सहभागिताका कारण पनि एनपिएलले सुरुवातदेखि नै चर्चा पाएको हो ।
लिगको बीचमा वेस्ट इण्डिजका महान् क्रिकेटर ब्रायन लाराको आगमनले एनपिएलले थप उचाइ लियो ।
