काठमाडौं: मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा नेपाल र श्रीलङ्काबीचकाे खेल रद्द भएकाे छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने क्रममा वर्षा भएपछि खेल रद्द भएकाे हाे ।
खेल रद्द भएपछि दुबै टाेलीले १/१ अंक बाँडेका छन्।
नेपाललाई अब फाइनल पुग्न बंगलादेशसंगकाे खेल महत्त्वपूर्ण हुनेछ।
नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।
गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन् । जसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन् । नेपाली टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् ।
