काठमाडौं: विराटनगर किङ्ससँग नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज पराजित भएको छ। शुक्रबार भएको खेलमा विराटनगरसँग चितवन ५१ रनले पराजित भएको हो। योसँगै चितवनले प्लेअफ पुग्न जनकपुर बोल्ड्ससँग खेल कुर्नुपर्ने भएको छ।
विराटनगरले भने प्लेअफ पुग्ने सम्भावना जिवितै बनाएको छ। ६ खेल खेलेको चितवनको ६ अंक छ। विराटनगरले समान खेलबाट चार अंक पुर्याएको छ। विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनायो।
चितवनका अमर रौटेलाले सर्वाधपक ४२ रन बनाए। २९ बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरे। ओपनर सन्तोष कार्की २८, कुशल मल्ल २५, रवी बोपारा २० रनमा आउट हुँदा दीपक बोहरा दुई र सोहेल तनवीर एक रनमा अविजित रहे।
विराटनगरका सन्दीप लामिछानेले दुई विकेट लिए। क्रिस सोल, बसिर अहदम र सुवास भण्डारीको नाममा एक विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका थिए। तर, विराटनगरले पहिलो पावर प्लेमा राम्रो गर्न सकेन। लोकेश बम शून्य, दीपक बोहरा चार, स्कट एडवार्ड्स शून्यमा आउट भएका थिए। पावर प्ले समाप्त भएसँगै निकोलस किर्टन पनि आठ रनमा पभिलियन फर्किएपछि विराटनगरको ब्याटिङले संघर्ष गरिरहेको थियो।
यद्यपि, मार्टिन गप्टिलले ४५ रनको इनिङ्स खेल्दै विराटनगरलाई जीवनदान दिए। १३.५ ओभरमा कुशल मल्लबाट बोल्ड हुनुपूर्व उनले ३५ बलमा एक चौका र चार छक्का प्रहार गरे। उनले पाँचौं विकेटका लागि बसिर अहमदसँग ६५ रनको साझेदारी गरे।
अर्कोतर्फ बसिरले राजेश पुलामीसँग अन्तिम चार ओभरमा ६९ रन जोड्दै विराटनगरलाई मजबुत अवस्थामा पुर्याए। ४४ बल खेलेका बसिरले चार चौका र चार छक्कासहित अविजित ६८ रन बनाए। राजेशले पनि ३३ रनको अविजित इनिङ्स खेले।
चितवनका रिजन ढकालले सर्वाधिक दुई विकेट लिए। सोहेल तनवीर, बसिल हामेद र कुशल मल्लले समान एक विकेट लिए।
यसैबीच अर्काे खेलमा कर्णाली याक्सले लगातार चौथो जित हासिल गरेको छ। लुम्बिनी लायन्सलाई कर्णालीले पाँच रनले पराजित गरेको हो। योसँगै एनिएलको प्लेअफ समीकरण झन जटिल बनेको छ।
१० अंकसहित जनकपुर बोल्ड्स प्लेअफमा पुगिसक्दा दुई खेल खेल्न बाँकी सुदूरपश्चिमको आठ अंक छ। कर्णालीले पनि समान अंक पुर्याएको छ। दुई खेल खेल्न बाँकी चितवन राइनोजको ६ अंक छ। यस्तै, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सको समान चार अंक छ। योसँगै लुम्बिनीले दुई अंकसहित एनपिएल टुंगाएको छ।
कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनिले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२३ रन मात्रै बनाउन सक्यो।
अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि नौ रन चाहिएको थियो। तर, नन्दन यादवले सुरुका दुई बल डट राखे। तेस्रो बलमा रोमन साइमोन्डलाई एक रन दिएपछि कर्णाली खेलमा फर्किएको थियो।उनले चौथो र पाँचौं बलमा समान एक रन दिए। अन्तिम बलमा जितका लागि ६ रन चाहिएको बेला तिलक भण्डारीले कुनै रन लिन सकेनन्।
तिलक तीन र रोमन चार रनमा अविजित रहे। लुम्बिनीका टम मुर्सले सर्वाधिक ३६ रन बनाए। ३५ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। सन्दीप जोरा २४, आशुतोष घिरैया १६, अर्जुन साउद १३ र रोहितकुमार पौडेल १० रनमा आउट भए।
कर्णालीका जिशन मक्शूदले सर्वाधिक दुई विकेट लिए। सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा र विलियम बोसिस्टोको नाममा समान एक विकेट रह्यो।
