काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा आजकाे
पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनकाे चुनाैती दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारे ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनायाे । जसमा सैफ जैबले ९० , कप्तान दिपेन्द्रसिंह ऐरीले अविजित ३९ रन हिर्काए।
जारी एनपीएलमा दुुवै टोलीको यो तेस्रो खेल हो। एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ। लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो।
सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ। सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो।
दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन्। यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे शुरू हुनेछ।
जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ, जसमा दुईवटामा पराजित हुँदा एक खेल जितेको छ। तीन खेल खेलेको विराटनगर किङ्सले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो।
