बैतडी:
बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएका खेलमा पञ्चकोटी क्रिकेट क्लब र पाटन क्रिकेट क्लब विजयी भएका छन् ।
पाटन क्रिकेट क्लबले महारुद्र क्रिकेट क्लबमाथि ६३ रनको जित निकाल्यो । पाटनले दिएको २२६ रनको बिशाल लक्ष्य पछ्याएको महारुद्र १६३ रन मात्रै बनाउन सक्यो । जसमा महेशराज भट्टले अर्धशतकीय पारी खेल्दै ५१ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।
यो संगै लगातार दोस्रो हारसंगै महारुद्र प्रतियोगिताबाट बाहिरिएको छ ।
पाटनका लक्ष्मण कार्की र हरिश केसीले समान ३ विकेट झारे ।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिंग गरेको पाटनले मनोज महरा र सुदर्शन भट्टको अर्धशतकले २२५ रनको स्कोर बनायो । मनोजले ६८ र म्यान अफ द म्याच समेत भएका सुदर्शन ७६ रनमा अविजित रहे ।
अर्को खेलमा पञ्चकोटीले बर्तोली क्रिकेट क्लबलाई १४३ रनले हरायो । जितका लागि पाएको १९६ रनको लक्ष्य पछ्याएको बर्तोली ५२ रनमा अलआउट भयो ।
म्यान अफ द म्याच भएका पञ्चकोटीका सुमित बुडालले १०२ रनको सतकीय पारी खेले ।
सुमित जारी प्रतियोगितामा शतक हिर्काउने पहिलो खेलाडी समेत बने ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजना सञ्चालित प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।
मंसिर ११ गतेदेखि सुरु भएको प्रतियोगिता मंसिर ३० गतेसम्म चल्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।
दुई चरणमा हुने प्रतियोगितामा पहिलो चरणमा हाल प्लेट च्याम्पियनसिपका खेलहरु भइरहेका हुन् ।
प्लेट च्याम्पियनसिप सम्पन्न पश्चात मंसिर २० देखि इलाइट च्याम्पियनसिपका खेलहरू सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।
यो प्रतियोगिता पहिलोपटक टर्फ पिचमा भइरहेको छ । नेपाल क्रिकेट संघको सहयोगमा दशरथचन्द खेलमैदान,सुन्दरखालीमा टर्फ पिच निर्माण गरिएको हो ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई २५ हजार, म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।
