काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही १५ मंसिरदेखि हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी तिब्र पारिएको छ ।
एनपीएलको मिति नजिकिएसंगै खेलहरु हुने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई धमाधम स्तरोन्नति गर्दै सिंगारिन थालिएको छ ।
खेलाडी र खेल हेर्ने दर्शकका लागि नयाँपन महसुस हुने गरी मैदान स्तरोन्नति काम भइरहेको हो ।
मैदान स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । क्यानले मैदानलाई नयाँ स्वरूप तथा मुहार फेर्दै विस्तार गरिरहेको छ ।

आठवटा नयाँ पिच
एनपिएलमा नयाँ आठवटा पिच प्रयोगमा ल्याइनेछ । क्यानले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को खेलपछि पुरोना पिच भत्काएर नयाँ बनाएको हो ।
बंगलादेशी एक्सपर्ट क्युरेटरको सहायतामा ८ वटा पिच निर्माण गरिएका हुन् ।

मैदानमा डिजिटल स्कोर बोर्ड
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार राष्ट्रिय खेलकुद परिषद् राखेपको समन्वयमा मैदानमा स्कोर बोर्ड जडान गरेको छ ।
मैदानमा डिजिटल स्कोर बोर्ड नहुँदा दर्शकले समस्या भोग्दै आएका थिए । मैदानको पूर्वतिर दुईतले भवनमाथि स्कोर बोर्ड जडान गरिएको छ ।
नेपालमै पहिलोपटक क्रिकेटको डिजिटल स्कोरबोर्ड जडान भएको क्यानको दाबी छ ।

दर्शक बस्ने चार क्षेत्र विभाजन र एकहजार अस्थायी प्यारापिट
यसपटकदेखि दर्शक बस्ने स्थानलाई चार क्षेत्रमा विभाजन गरी टिकट निर्धारणसमेतको तयारी छ ।
एनपिएलमा अस्थायी भिआइपी र एक हजार सिट अस्थायी प्यारापिटमा हुनेछ । क्यानले यसपटकदेखि मिडिया जोन परिवर्तन गरेको छ । यसअघिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा मिडिया बस्ने जोनलाई क्यानले भिभिआइपी क्षेत्र बनाएको छ । यसअघि भीभीआईपी बस्ने ठाउँमा अब मिडिया बक्स रहनेछ ।

प्रिम्याच र पोस्ट म्याच गर्ने उचित स्थान नभएका कारण नै क्यानले मिडिया जोन परिवर्तन गरेको हो । भिभिआइपी बस्ने स्थानमा एसी जडान गरिएको छ । मैदानको उत्तरतर्फको भवनलाई भिभिआइपी स्थान बनाएको क्यानका सचिव पारस खड्काले बताउनुभयो ।

इन्डोर र आउट डोर अभ्यासस्थल सुधार
क्यानले एनपिएलकै लागि फुड इन्स्टल राख्ने योजना बनाएको छ । इन्डोर र आउट डोर अभ्यास स्थल सुधार गरिएको छ । गत फ्रेबु्रअरीपछि त्रिवि मैदानमा कुनै पनि अन्तर्राष्ट्रिय खेल तालिका रहेन । यही अवधिमा क्यानले मैदानको पूर्वाधार र नयाँ संरचना बनाउन सुरु गरेको हो ।
मैदानको पूर्वपट्टि फ्रेन्चाइज टोलीका मालिक बस्ने स्थान बनाइँदै छ । स्कोर बोर्डनजिकै अम्पायर भवन रहेको छ । जसको छतमा भिभिआइपीको स्थान पनि बनाइएको छ ।
यसअघिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा एकै मूल्यका टिकट खरिद गरी दर्शक मैदानका कुनै पनि भागमा बस्थे । अब एनपिएलमा दर्शकले यस्तो सुविधा पाउनेछैनन् ।

जोनअनुसार मूल्य निर्धारण
क्यानले दर्शक बस्ने फरक जोन बनाएको र यसको मूल्यसमेत फरक हुनेछ । क्यानले सहजै खेल हेर्न मिल्ने चोभार एन्डका टिकटको मूल्य अरूभन्दा धेरै हुने जनाएको छ ।
भिभिआइपीको एक हजार थान टिकट पनि रहनेछ । बाँकी दुई जोनका टिकटको मूल्य पनि फरक हुनेछ। क्यानले दर्शकका लागि अस्थायी र स्थायी बाथरुम पनि तयार गरिसकेको छ । महिला तथा पुरुषका लागि सहज बाथरुम सञ्चालनमा ल्याउने अन्तिम चरणमा पुगेको छ ।

फ्लडलाइट जडान हुन सकेन
त्रिविमा फ्लडलाइट जडानको काम भने अगाडी बढ्न सकेको छैन ।
फ्लडलाइट नहुँदा रातिमा खेल गराउन सकिएको छैन ।
गत ३१ असारमा केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले ३०० दिनभित्र त्रिवि मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेको थियो ।
एनपीएलमा आठ टोली सहभागी हुँदैछन् । खेलको प्रत्यक्ष प्रशारण चर्चित भारतीय खेलकुद टिभी च्यानल स्टार स्पोट्सबाट हुनेछ ।




