बैतडीमा कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालनकाे तयारी

बैतडी: बैतडीमा कोभिड –१९ विरुद्धको खोप अभियान सञ्चालनकाे तयारी भएको छ।जिल्लामा यही कार्तिक ९ गतेदेखि २८ गतेसम्म कोभिड विरुद्धको फाइजर खोप दिने तालिका रहेको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयाे।

कोभिड १९ भाइरसले आनुवांशिक स्वरुप परिवर्तन गरेर फैलिरहेको हुँदा स्वास्थ्य मन्त्रालयको नीति अनुसार जिल्लामा पनि खोप अभियान सञ्चालन हुने भएको हाे।

यो भन्दा पहिला कोरोना विरुद्धको खोप नलगाएका १२ बर्षभन्दा माथिका सबै नागरिक र कोरोना खोप लगाएको १ बर्ष पूरा भएका १२ बर्षमाथिका सबै नागरिकलाई कोभिड –१९ विरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिनुभयाे । गर्भवती महिलाहरुको हकमा तीन महिना पूरा भएकाहरुलाई मात्रै खोप दिइनेछ।

जिल्लाभरीका १४८ खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन हुने बताइएको छ । जिल्लाका ८४ ओटै वडामा खोप अभियान सञ्चालन हुनेछ । अभियानका लागि एक खोप केन्द्रमा एकजना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक खटाइने जनाएको छ।

बैतडीका १० ओटा स्थानीय तहमध्ये ५ ओटामा तिहारभन्दा अगाडि खोप अभियान सञ्चालन हुनेछ भने ५ ओटामा तिहारपछि खोप अभियान सञ्चालन हुने खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिनुभयाे। 

जिल्लाको पुर्चौंडी नगरपालिकामा कार्तिक ९ देखि १३ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ भने दोगडाकेदार गाउँपालिकामा कार्तिक ९ गतेदेखि १४ गतेसम्म अभियान सञ्चालन हुनेछ । यस्तै मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कार्तिक ११ र १२ गते खोप अभियान सञ्चालन हुनेछ । 

यस्तै पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा कार्तिक २६ र २७ गते खोप अभियान सञ्चालन हुने तय भएको छ । जिल्लाको दशरथचन्द नगरपालिकामा कार्तिक २७ र २८ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य प्रमुख भट्टले बताउनुभयाे । 

जिल्लामा खोप अभियान सञ्चालन गर्नका लागि १४ हजार ४ सय डोज खोप पुगिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिडबाट बच्नका लागि एकमात्रै उपाय खोप भएकाले अभियान सञ्चालन भएका बेला नजिकका खोपकेन्द्रमा गएर खोप लगाउन आग्रह समेत गरिएको छ ।   
 

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!